बाम एकता सम्भव छ ? के भन्छन कम्युनिष्ट नेताहरु
News Desk
Jul-24 , 2022 तारिख 11:07 बिहान

काठमाडौं ─ ०८ साउन २०७९

काठमाडौं, पछिल्लो समय नेपालमा रहेका कम्युनिष्ट दलहरुबीच एकताको चर्चा चलिरहेको छ । विभिन्न कम्युनिष्ट घटकका शीर्ष नेताहरु बाम एकताका लागि भन्दै छलफलमा पनि व्यस्त रहेको देखिन्छ । तत्कालीन नेकपाको फुटपछि झन चिराचिरा परेका कम्युनिष्टहरु पुनः एकजुट भएर बलियो शक्ति बन्लान ? बाम एकता कति सम्भव छ ? नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दलीय गठबन्धनभित्र रहेका वामपन्थी पृष्ठभूमिका पार्टीहरूबीच एकताको प्रयास भइरहेको बताउँछन् । पार्टीको कार्यक्रमका लागि सर्लाही जाने क्रममा शनिबार जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले गठबन्धनभित्र रहेको सबै वामपन्थी पृष्ठभूमि भएका समूहसँग छलफल चलिरहेको र छिट्टै सकारात्मक परिणाम आउने बताए ।

“जनता समाजवादी पार्टीबाट डा बाबुराम भट्टराईको समूह फुटिसकेको र औपचारिकता मात्र बाँकी छ”, अध्यक्ष प्रचण्डले भने, “ जसपाका दुवै पक्षसँग हाम्रो छलफल चलिरहेको छ, उपेन्द्र यादवजीले नेतृत्व गरेको पार्टी गठनबन्धनमै छँदैछ, बाबुरामजीले बनाउने अर्को पार्टी पनि गठबन्धनमै रहने उहाँले भन्दै आउनुभएको छ । त्यस कारण बाबुरामजीको समूह पनि हाम्रै गठबन्धनमा रहने मेरो विश्वास छ । ” गठबन्धनमा रहेका वामपन्थी पृष्ठभूमिका दलहरूबीच चुनावी मोर्चा वा पार्टी एकताका लागि संयोजन समिति पनि बन्न सक्ने उल्लेख गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले भने, “ हाम्रो छलफल चलिरहेको छ तर अहिलेसम्म अन्तिम निर्णयमा पुग्न सकेका छैनौँ । सम्भवतः केही दिनभित्र एउटा निर्णयमा हामी पुग्छौँ, ” उनको भनाइ थियो । आफूहरूकै जोडबलमा नै नागरिकता विधेयक पारित भएको र नागरिकताविहीन नेपाली नागरिकले नागरिकता पाउन लागेको जिकिर गर्दै अध्यक्ष प्रचण्डले विधेयक पारित भएसँगै नागरिकता विवाद पनि समाधान भएको बताए ।
वाम एकताका लागि एमालेले पहल गर्नुपर्छ
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सम्मानजनक भूमिका नदिए आउँदो निर्वाचनमा तालमेल हुन नसक्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले कुनै दललाई बहुमत प्राप्त हुने गरी तालमेल गर्न नसकिने बताए । उनले तालमेलका लागि सम्मानजनक भूमिका दिनुपर्ने बताए ।

नेपाली कांग्रेसप्रति लक्षित गर्दै नेता खनालले केही दलले बहुमत आउने गरी चुनावी तालमेलमा जाने निणर्य गरेको भन्दै कसैलाई बहुमत दिलाउन तालमेल नगर्ने बताए । उनले स्थानीय तहमा जसलाई बोक्यो, उसलै आउँदो निर्वाचनमा बहुमत ल्याए कम्युनिष्ट आन्दोलनको इतिहास समाप्त हुने पनि उनले बताएका छन् । अहिले वाम एकताको खाँचो रहेको बताउँदै नेता खनालले यसका लागि नेकपा एमालेले पहल गर्नुपर्ने बताए । उनले आउँदो निर्वाचनमा सम्भव भए वामपन्थी एकता गर्नुपर्ने भन्दै यसका लागि नेकपा (एमाले) को नेतृत्व तयार हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको बताए । सबै पार्टीलाई सम्मानजनक ढंगले एकता गराउन एमालेले पहल लिए वामपन्थी एकता असम्भव नरहेको उनले बताएका छन् ।
कांग्रेसलाई तर्साउन बाम गठबन्धनको हल्ला
नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले कांग्रेसलाई तर्साउनका लागि बाम गठबन्धन र बाम एकताको फन्दा चलाइएको बताएका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा ज्ञवालीले कांग्रेसलाई तर्साउन र चुनावका लागि बार्गेनिङ गर्न बाम गठबन्धनको हल्ला फिँजाइएको दाबी गरे । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बन्नेगरी मात्र गठबन्धन गर्ने भनी गरेको निर्णयबाट सत्ता साझेदार अन्य दलले पसिना काढेको चर्चा गर्दै उपमहासचिव ज्ञवालीले भने, ‘अलि पहिले प्रधानमन्त्रीको अफर आयो भन्ने फन्दा चलाइएको थियो, त्यो फेल खायो, अव बाम एकताको फन्दा चलाइएको छ ।’

कांग्रेसले चुनाव जित्दा खुसी मनाउनेहरूलाई बामपन्थी मान्न नसकिने भन्दै उनले एमालेको नेतृत्व स्वीकार गरेर देश विकास र समृद्धिको एजेण्डा मिल्नेहरूसँग भने चुनावी एकता हुन सक्ने बताए । गठबन्धन नगरी चुनाव जितिन्न भन्ने सोँचमा एमाले नरहेको दाबी गर्दै उपमहासचिव ज्ञवालीले एमाले सत्ता प्राप्त गर्नकै लागि जोसँग पनि लहसिनुपर्छ भन्ने मान्यताबाट टाढा रहेको बताए । ’सत्ता नै सबै कुरा हो भनेर जोसँग पनि लहसिने काम एमालेले गर्दैन,’ ज्ञवालीले भने । छुट्टै प्रसंगमा उपमहासचिव ज्ञवालीले नागरिकता विधेयकमा माओवादी केन्द्र आफ्नो अडानबाट पछि हटेर आफ्नै सांसदहरूको भावनामा चोट पु¥याएको बताए । उनले माओवादी केन्द्रकै सांसदहरूले संशोधन प्रस्ताव राखेको नागरिकताको वैवाहिक अंगिकृत नागरिकताको एजेण्डा विपरित विधेयक पास गरिएको बताए ।

रहस्यमय तरीकाबाट विधेयक पास गरिएको उनको भनाइ छ । वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी पारित विधेयक देशको हितमा नभएको उनको दावी छ । नोकरी, व्यापार, व्यवसाय र अन्य क्रियाकलाप गर्न दिए पनि विवाह गरेर ल्याएलगत्तै नागरिकता दिनुपर्ने मागको एमालेले पहिले पनि विरोध गरेको र अहिले पनि विपक्षमा रहेको ज्ञवालीले बताए । वैवाहिक अंगिकृतबहेकका अन्य एजेण्डामा भने सरल र सहज तरीकाले हरेक नेपालीले नागरिकता पाउनु पर्ने पक्षमा एमाले रहेको पनि उनले प्रष्टाए । ’नागरिकता जस्तो संवेदनशील विषयमा विगतका सहमतिलाई पनि लत्याएर जुन रातारात विधेयक पारित गरियो यसले देशलाई अप्ठ्यारोमा पार्ने निश्चित छ,’ ज्ञवालीले भने ।

धेरै पढिएको