News Desk
काठमाडौ ─ १७ साउन २०७९
काठमाडौ, प्रमुख प्रतिपक्षी एमालेले मूल्यबृद्धिलगायत जनसरोकारका विषयलाई लिएर काठमाडौंमा बृहत् जनप्रदर्शन कार्यक्रम गरेको छ । मुलुकमा महँगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै सोको विरोधमा सोमबार राजधानीका विभिन्न स्थानबाट ¥यालीसहित विरोध कार्यक्रम गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले जनसरोकारका सवालमा आफ्नो पार्टीले अगुवाइ गर्ने बताए । जनसरोकारका विषयमा राज्यलाई जवाफदेही बनाउन खबरदारी स्वरूप सोमबार काठमाडौँ सो पार्टीले आयोजना गरेको जनप्रदर्शन कार्यक्रमलाई समापन गर्दै महासचिव पोखरेलले जनताको सवाललाई उठाउने जिम्मेवारी एमालेको काँधमा आएको र अब महँगी, भ्रष्टाचार र राष्ट्रिय हितविरुद्ध जनता सडकमा आउनुपर्ने बताए । जनता र राष्ट्ररका विरुद्ध षडयन्त्र गर्नेलाई जानताले नछाड्ने उल्लेख गर्दै उनले आजको प्रदर्शन आन्दोलनको थालनी भएको जनाए ।
पोखरेलले देशहितविपरीत नागरिकता विधेकय पास गरिएको आरोप लगाएका छन् । उनले सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गरेको आरोप लगाए । नागरिकता विधेयकमा अङ्गीकृत नागरिकताका सम्बन्धमा छिमेकी मुलुक भारतमा रहेको व्यवस्था अनुरूप हुनुपर्नेमा सत्ता टिकाउने नाममा देशहित विपरीतको व्यवस्था गरेकोमा एमालेको आपत्ति रहेको उनको भनाइ छ । अंगीकृत नागरिकताका हकमा नेपाल र भारतमा समान कानुनी व्यवस्था हुनुपर्ने उनले बताए । मुलुकको अर्थतन्त्र ओरालो यात्रामा रहेको बताएका महासचिव पोखरेलले सबै आर्थिक सूचक नकारात्मक रहेका जानकारी दिए । जनप्रदर्शन आयोजक कमिटीका संयोजक एवं पार्टीका स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले अब हुने निर्वाचनबाट एमालले जनमत प्राप्त गर्ने भएकाले उत्साहका साथ लाग्न कार्यकर्ताहरुलाई आग्रह गरे ।
जनप्रदर्शन दिउँसो २ बजे वसन्तपुरमा मिसिएर भित्री सहर प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटी हुुँदै शान्तिवाटिकामा पुगेर समापनसभामा परिणत भएको थियो । आयोजक कमिटीका कृष्णगोपाल श्रेष्ठका अनुसार जनप्रदर्शन अपरान्ह दिउँसो वसन्तपुरमा मिसिएर भित्री सहर प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटीहुँदै शान्तिबाटिकामा पुगेर बसन्तपुरमा सभामा परिणत भएको हो । काठमाडौं उपत्यकामा परेको पानीसमेतको पर्वाह नगरी एमालेका कार्यकर्ताहरु विरोध कार्यक्रममा उपस्थित भएका थिए । जनप्रदर्शनमा पार्टीका काठमाडौँ उपत्यकाका भूगोलका तीन जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी र त्यसअन्तर्गतका चार जिल्ला कमिटी, सम्पर्क कमिटी, जनवर्गीय सङ्गठनहरू, सांसदहरू, पार्टीको केन्द्रीय विभागका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।