महाकाली सन्धिमा कमजोरी भयो : ओली
News Desk
Aug-02 , 2022 तारिख 11:14 बिहान

काठमाडौं ─ १७ साउन २०७९

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाकाली सन्धिमा कमजोरी रहेको स्वीकार गरेका छन् । महाकाली सन्धि संसदले अनुमोदन गरेको साढे दुई दशकपछि ओलीले त्यसलाई स्वीकार गरेका हुन् । सोमबार काठमाडौंमा पूर्वजलस्रोत सचिव द्वारिकानाथ ढुंगेलको पुस्तक लोकार्पण कार्यक्रमका ओलीले सन्धि अनुमोदन गर्न महत्त्वपूर्ण भूमिका खेलेका ओलीले महाकालीको पानी दुवै देशको आधा–आधा हो भन्ने विषयलाई सन्धिले स्थापित गरेको बताए । तल्लो शारदा नहरले प्रयोग गरेको पानीको बारेमा त्यस समयमा चर्चा नहुनु कमजोरी भएको ओलीले बताए । ‘त्यस समयमा केही केही चर्चामा नरहेको विषय पनि रहेछ ।

धेरै पहिलेदेखि तल्लो शारदा नहर पनि चलेको रहेछ । त्यस समयमा चर्चा भएन । त्यसले गर्दा पानी खपतको बाँडफाँडको विषयमा प्रसस्त छलफल हुन पाएन । कतिपय ल्याप्सेस (कमजोरी) रहे,’ उनले भने । महाकाली सन्धि अनुमोदन भने आवश्यक रहेको उनको दाबी थियो । महाकाली सन्धिले गर्दा तत्कालीन समयमा नेकपा एमालेमा विवाद चर्किएको थियो । उक्त विवाद उत्कर्षमा पुग्दा पार्टी विभाजित भएको थियो । ओलीले नेपालमा भएका सम्पूर्ण प्राकृतिक स्रोतसाधनको समुचित प्रयोग हुन नसकेको बताए । राष्ट्रहित अनुकुल हुँदै यी साधान स्रोतको प्रयोग गर्नु पर्ने उनको भनाइ छ ।

कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली सत्ताहितको लागि राष्ट्रहितलाई तिलाञ्जली दिने प्रवृत्ति देखिएको बताए । उनले कार्यक्रममा पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले राष्ट्रहितमा देखाएको र चालेको कदमको प्रशंसा पनि गरे । यस्तो गलत प्रवृत्तिको सधै विरुद्धमा रहनु पर्ने बताए । कार्यक्रममा उनले पुस्तकले नेपालको जलस्रोतलाई उर्जासँग मात्रै नजोडेर विश्वभर खानेपानी आपुर्तिको रुपमा पनि व्याख्या हुनुपर्ने बताए ।

धेरै पढिएको