कोरोनाबाट मृत्यु हुनेमध्ये ७५ प्रतिशत खोप नलगाएका
News Desk
Aug-10 , 2022 तारिख 12:35 बेलुका

काठमाडौं ─ २५ साउन २०७९

काठमाडौं, कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुने अधिकांश खोप नलगाएका रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार हालसम्म मृत्यु भएकामध्ये ७५ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छैनन् । उनले कोरोना भाइरसविरुद्धको खोप नलगाएका उच्च जोखिममा भएकाले खोप लगाउन आग्रह गरे । ‘खोप नलगाएका उच्च जोखिममा रहेकाले खोप नलगाउनुभएका सबैले आफ्नो नजिकको स्वास्थ्य संस्थामा गई आवश्यकताअनुसार पहिलो, दोस्रो र बुष्टर मात्रा खोप लगाउन आग्रह गर्दछाँै’, उनले भने । मंगलबारमात्र कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय ७४ सङ्क्रमणको कारणले मृत्यु भएको छ । नेपालमा सङ्क्रमणको कारणले प्रति दशलाखमा ४१० दशमलव २ जनाको निधन भइसकेको छ ।

मन्त्रालयका अनुसार खोप नलगाएको मानिसलाई कोभिड–१९ सङ्क्रमण भयो भने त्यस्ता मानिस गम्भीररूपमा बिरामी पर्ने र मृत्यु हुने सम्भावना खोप लगाएको मानिसको तुलनामा १० गुणा बढी हुने गर्दछ । यस्तै पहिलो र दोस्रो खोप लगाएकाहरूलाई बुष्टर मात्रा लगाउन आग्रह गरिएको छ । बुष्टर मात्रा खोपले गम्भीर बिरामी पर्ने वा मृत्यु हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा प्रदान गर्छ । सरकारले लक्षित जनसङ्ख्याको ९३ दशमलव ३ प्रतिशत पहिलो मात्रा र ८८ दशमलव ५ प्रतिशत दोस्रो मात्राको खोप लगाइसकेका छन् । मन्त्रालयले कोभिड–१९ बाट सङ्क्रमित ५० प्रतिशत मानिसमा कुनै पनि लक्षण नदेखिएकाले सङ्क्रमणबाट बच्नका लागि खोप लगाउन आग्रह गरिएको छ । सङ्क्रमणबाट बच्नका लागि नाक, मुख छोपिने गरी सही तरिकाले मास्क लगाउन, भौतिक दूरी कायम गर्न, खोक्दा वा हाच्छ्युँ गर्दा पाखुरादेखि नाडीसम्मको भागले छोप्न, झ्याल सधैँ खुला राख्न र बेलाबेलामा सावुन पानीले मिचीमिची हात धुन आग्रह गरेको छ । अहिले दैनिक एक हजारभन्दा बढी सङ्क्रमण देखिने गरेको छ ।

थप १०९० जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप एक हजार ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारीअनुसार ६ हजार ३०० नमुना परीक्षण गर्दा एक हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दुई हजार ९५८ नमुनाको पीसीआर परीक्षण गर्दा ५६० जनामा र तीन हजार ३४२ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या पाँच हजार ८०६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४३८ जना कोरोना संक्रमणमुक्त हुँदा एक जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसअघि सोमबार पाँच हजार ३५१ नमुना परीक्षण गर्दा ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ४७० जना संक्रमणमुक्त भएका थिए । साथै एक जना संक्रमितको मृत्यु भएको थियो ।

धेरै पढिएको