सडक अलपत्र पार्ने ठेकेदारलाई काम सुचारु गर्न अल्टिमेटम
News Desk
Aug-14 तारिख 12:56 बेलुका

खोटाङ ─ २९ साउन २०७९

खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतीको काममा ढिलासुस्ती गर्ने निर्माण कम्पनीहरुलाई तत्काल काम सुचारु गर्न अल्टिमेटम दिएको छ । नगरपालिकाले तीनवटा सडक खण्ड स्तरोन्नतीको काम जिम्मा लिने निर्माण कम्पनीहरुलाई यही आउँदो भदौ एक गतेभित्र काम सुचारु गर्न अल्टिमेटम दिएको हो ।  हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक खण्ड स्तरोन्नतीको काम अलपत्र पार्ने रौताहा/सुसम/आदित्य जेभी र दिक्तेलस्थित अस्पतालचोक–लफ्याङ सडक खण्ड स्तरोन्नतीको काम अलपत्र पार्ने ढुकुचु/बगाले थापा/विएनटि जेभीलाई अल्टमेटम दिँदै काम सुचारु नभए कार्वाही गर्ने नगरपालिकाको चेतावनी दिएको छ ।

यस्तै, दिक्तेलको हाटडाँडा–लफ्याङ–अल्छेढुंगा–दोर्पा दुम्ली–आयुर्वेद भवन सडक स्तरोन्नतीको काम अलपत्र पार्ने लगलगे कन्ट्रकसन चावहिललाई पनि कारबाही गर्ने चेतावनी दिएको हो । नगर प्रमुख तीर्थराज भट्टराईले र निर्माण कम्पनीहरुलाई छुट्टाछुट्टै पत्राचार गर्दै अवरुद्ध काम यथाशिघ्र सम्पन्न नगरे सार्वजनिक खरिद अनुगमन कार्यालय लगायतका निकाय समक्ष कानून बमोजिमको कारबाहीको सिफारिस गर्ने चेतावनी दिनुभएको छ । नगरपालिकाले पुर्वाधार विकास कार्यालय, गाईघाट, उदयपुरलाई पत्रको वोधार्थ पठाएको छ । अलपत्र सडकहरुमा यातायात सेवा अवरुद्ध भएको छ । सडक हिलाम्मे हुँदा हिँडडुल गर्न समेत समस्या भएको र अलपत्र बाटोमा दुर्घटनाको जोखिम बढेको स्थानीय सुनाउँछन् । वर्षा सुरु भए सँगै ठप्प बनेको उक्त सडकहरु सघन शहरी तथा भवन निर्माण आयोजना, ओखलढुंगाबाट बोलपत्र आव्हान भइ ठेक्का लागेको हो ।