नेपाल डेरी एसोसिएसनको आयोजनामा दही चिउरा प्रबद्र्धन कार्यक्रम सम्पन्न
News Desk
Jun-29 , 2024 तारिख 05:39 बेलुका

काठमाडौँ । नेपाल डेरी एसोसिएसनले दही चिउरा प्रबद्र्धन कार्यक्रम सम्पन्न गरेको छ । एसोसिएसनले धान दिवसको पूर्वसन्ध्यामा केन्द्रीय कार्यालय ललितपुरमा शुक्रबार उक्त कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा बोल्दै राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशनक डा। राजेन्द्र यादवले किसानले उत्पादन गरेको दुध तथा दुग्ध पदार्थ खपतमा वृद्धि ल्याउनको लागि यस्ता कार्यक्रमहरू गर्न जोड दिनुभयो । दही चिउरा खाने परम्परा मौलिक संस्कृति रहेको बताउनु हुँदै उहाँले भन्नुभयो,“दही चिउरा खानु हाम्रो संस्कृति हो । यस्तो कुराहरू वर्षमा एकचोटी मात्र होइन बारम्बार गरिरहनुपर्ने कार्यक्रम हो। दुग्ध उद्योगी र किसानहरूको लागि सदैव राष्ट्रिय दुग्ध विकास बोर्ड सहयोगीको भुमिकामा रहनेछ ।” उहाँले अहिले रोकिएको किसानको भुक्तानी दिलाउन बोर्ड जोडतोडले लागेको उल्लेख समेत गर्नुभयो ।

त्यसैगरि नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले असार १५ मा देशभर करिब ८० लाख लिटर दही खपत हुने र सो बापत करिब १ अर्ब ४० करोड रुपैयाँको कारोबार हुने जानकारी दिनुभयो । १५ असार मानो रोपेर मुरी फलाउने दिन भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यो दिन भनेको मानो रोपेर मुरी फलाउने दिनको रूपमा लिने गरिन्छ । असार १५ लाई धान दिवसको रूपमा मनाउने गरिन्छ । यस दिन सबै ठाउँमा दही चिउरा खाइन्छ । जुन अर्थतन्त्र र नागरिकको लागि फाइदाको विषय हो ।”

कार्यक्रममा पशु सेवा विभागका पशु विकास अधिकृत सिताराम ओलीले शहर उन्मुख भईरहदा दुग्धजन्य उत्पादनमा कमी आउन सक्ने बताउनुभयो भने केन्द्रिय दुग्ध सहकारीका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले दुग्ध किसानले बेलैमा भुक्तानी नपाउँदा यस प्रतिको आकर्षण घटन जाने चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा एसोसिएसनका केन्द्रीय उपाध्यक्ष दीपप्रसाद धमला, मनोजकुमार घिमिरे, सह कोषाध्यक्ष रामभक्त दाहाल, सदस्य रमेश सञ्जेल, बागमती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरे, सचिव श्याम घिमिरे, ललितपुर दुग्ध व्यवसायी संघक उपाध्यक्ष दिपक सञ्जेल लगायतको उपस्थिति रहेको थियो ।