News Desk
सर्लाहीको हरिवन नगरपालिका–१ पटौनामा आज दिउँसो खेत जोतिरहेको ट्याक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ।
धान रोपाइँका लागि खेत जोत्दै हिँडेको ज १ त ५७५७ नं। को ट्याक्टर अनियन्त्रित भई पल्टँदा चालक हरिवन नगरपालिका–२ अत्रौली बस्ने ५० वर्षीय सहदेव राउतको मृत्यु भएको हो।
खेतको आली चढाउने क्रममा ट्याक्टर पल्टँदा चालक राउतको रोडाभेटरमा च्यापिएर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ। स्थानीयका अनुसार राउतले रोपाइँका लागि खेत जोत्ने काम धेरै पाइने भएकाले ट्याक्टर भाडामा लिएर चलाइरहेका थिए।