News Desk
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँचौँ पटक विश्वासको मत लिन लागेका छन।
आज प्रतिनिधिसभाको बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने कार्यसूची संसद सचिवालयले सार्वजनिक गरिसकेको छ।
सत्तारुढ नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले मात्र साथ दिएका छन।
गत फागुन २१ मा कांग्रेसले समर्थन फिर्ता नलिँदै एमालेसँग सत्ता सहकार्य गर्न पुगेका प्रचण्ड यतिवेला भने विश्वासको मत नपाउने अवस्थामा छन। कांग्रेस र एमालेले नयाँ सत्ता समीकरणको सहमति गरिसकेकाले प्रचण्डको प्रधानमन्त्रीमा तेस्रो कार्यकाल १८ महिनाको मात्रै हुने देखिएको छ।
२०७९ पुस १० मा दुई तिहाइ सांसदको मत पाएका प्रचण्ड पाँचौँ पटक आइपुग्दा निक्कै खुम्चिएका छन। कांग्रेस र एमालेले प्रचण्डलाई विश्वासको मत नदिन ह्विप जारी गरिसकेको छ। संसद्मा प्रतिनिधित्व गर्ने रास्वपा र एकीकृत समाजवादीबाहेकका सबै दल विपक्षमा उभिएका छन।
राष्ट्रिय प्रजातन्त्र पार्टी, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, नागरिक उन्मुक्ति पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीले वर्तमान सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ। माओवादीले भने सबै दलसँग विश्वासको मत माग्ने निर्णय गरेको छ।
माओवादीले भने विश्वासको मत नपाए संविधानको धारा ७६ को ३ अनुसार नयाँ सरकार गठन गर्ने दावी गर्दै आएको छ भने अन्य दलले धारा ७६ को २ अनुसार नै बहुमतको सरकार बन्ने जिकिर लिएको छ।