बङ्गलादेशमा हिंसा भड्किएपछि १७ जना नेपाली विद्यार्थी नेपाल फर्किए
News Desk
Jul-22 , 2024 तारिख 11:50 बिहान

विद्यार्थी आन्दोलनका कारण बङ्गलादेशमा हिंसा भड्किएपछि नेपाल आइपुगेको १७ जना नेपाली विद्यार्थीले बङ्गलादेशको अवस्था असहज रहेको बताए।

आइतबार हवाई र स्थलमार्ग हुँदै नेपाली विद्यार्थी नेपाल आइपुगेका हुन। बङ्गलादेशको सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेको प्रदर्शन चर्किएपछि सरकारले पहिलो चरणमा आउन चाहने १७ नेपाली विद्यार्थीको उद्धार गरेको हो।

नेपाल फर्कन चाहने अन्य विद्यार्थीलाई ढाकास्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ।

सरकारी सेवामा विशेष आरक्षणको विरोधमा एक सातादेखि जारी आन्दोलनका कारण आठ सयभन्दा बढी नेपाली विद्यार्थीले बंगलादेश छाडिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बङ्गलादेश सरकारले शुक्रवार रातीदेखि देशभर कर्फ्यु लगाएको छ । त्यस्तै सञ्चार सेवा, इन्टरनेट र टेलिफोनका सेवा विच्छेद गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन। बङ्गलादेशमा तीन हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत रहेको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

आइतबार नेपाल आइपुगेका नेपाली विद्यार्थीहरूले ढाकामा सञ्चार विच्छेद गर्ने क्रम सुरु भएको र प्रधानमन्त्री समेत भागेर स्पेन पुगिसकेको आफूहरूले थाहा पाएको सुनाए। 

धेरै पढिएको