काठमाडौँमा विद्युतीय बस चलाउन मेयर बालेनले चासो नदेखाएको नगर विकास कोषका कार्यकारी निर्देशकको आरोप
News Desk
Jul-23 , 2024 तारिख 12:39 बेलुका

नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले विद्युतीय बस (ईबीआरटी) आयोजना कार्यान्वयन गर्न काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले चासो नदिएको आरोप लगाएका छन।

 

सोमवार निर्देशक सापकोटाले सञ्चारकर्मीहरुसँग काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात प्रणाली रुपान्तरण गर्ने विद्युतीय बस (ईबीआरटी) अवधारणा कार्यान्वयनमा नगर विकास कोष र काठमाडौँ महानगरपालिकाबीच सहकार्य भए पनि कार्यान्वयनमा आउन नसक्नुमा महानगरले चासो नदिनु रहेको गुनासो गरे। 

उनले शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा व्यवस्था गरिएको संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणलाई कोषबाट आवश्यक प्राविधिक सहयोग प्रदान गर्ने सम्झौता भए पनि काठमाडौँका मेयर बालेन्द्र साहले बेवास्ता गर्दा कामले गति लिन नसकेको आरोप लगाए। 

उनले संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणको अध्यक्षमा काठमाडौँका मेयर बालेन्द्र साह र उपाध्यक्षमा ललितपुरका मेयर चिरीबाबु महर्जन रहेको बताए। उनले उक्त आयोजना कार्यान्वयनको लागि दुवै महानगरका मेयरले चासो नदिँदा यातायात प्रणालीमा रुपमान्तरण हुन नसकेको आरोप लगाए। 

काठमाडौँमा विद्युतीय बस ट्रान्जिटका प्रोजेक्टअनुसार संघीय राजधानी यातायात व्यवस्थापन प्राधिकरण भनेर संस्था २ वर्षअघि स्थापना भए पनि अहिलेसम्म नियमावली आउन नसकेको बताए। उनले काठमाडौँ र ललितपुर गरी दुवै मेयरले यसमा काम गर्न नचाहेको बताए। उनले दुवै मेयरले काम गर्न नचाहेमा काठमाडौँको यातायात प्रणाली परिर्वतन हुन नसक्ने बताए। 

‘काठमाडौँमा विद्युतीय बस ट्रान्जिटका प्रोजेक्टअनुसार संघीय राजधानी यातायात व्यवस्थापन प्राधिकरण भनेर संस्था जन्मेको २ वर्ष भयो‚ नियमावली आउन सकेको छैन‚ सीईओ पाउनसकेको छैन‚’ उनले भने, ‘यसको अध्यक्ष काठमाडौँ महानगरपालिकाको मेयर र उपाध्यक्ष ललितपुर महानगरपालिका मेयर हो। दुईवटै मेयर काम गर्न चाहनुहुन्न भने काठमाडौँको यातायात प्रणाली परिर्वतन हुँदैन। रूपान्तरणको लागि त्यो निकाय चाँडै आउनुपर्छ।’

उनले सो आयोजना कार्यान्वयन गर्ने संस्थागत गर्ने निकायको नै विकास नहुँदा जतिसुकै पैसा भए पनि यातायात प्रणाली रूपान्तरण हुन नसक्ने दावी गरे। काठमाडौँ उपत्यकामा यातायात प्रणालीको रूपान्तरण हुन कार्यान्वयन गर्ने निकाय भएमात्र ईबीआरटीजस्ता आयोजनाहरु कार्यान्वयन हुने बताए।

 

धेरै पढिएको