News Desk
पेरिस — श्रावण ९, २०८१। एएफपी
त्यसो त पेरिस ओलम्पिकलाई एउटा सामाजिकीकरण र मिलनकै उत्सवको रूपमै चित्रण गरिएको छ । यस सहरका अधिकारीहरू पाहुना जतिलाई चेतावनी दिन चाहन्छ, यहाँका कुख्यात प्यारा बासिन्दाको सामना भने नगर्नु । ‘राटाटाउल’ असाध्यै लोकप्रिय एमिनेटेट सिनेमा हो । यसमा पेरिसमा ठूलै संख्यामा रहेको मुसालाई ठट्टाका रूपमा पेस गरिएको छ ।

तर, यो फ्रान्सेली राजधानीका स्थानीयका लागि न त ठट्टा हो । अझ यो त पेरिस ओलम्पिक आयोजकका लागि चिन्ताकै विषय रहेको छ । कतै यसै कारण लाजमर्दो स्थिति बन्ने त होइन ? पेरिसका डेपुटी मेयर एनी क्लेयर बक्सले एएफपीसँगको अन्तर्वार्तामा भनेकी छिन्, ‘ओलम्पिक सुरु हुनु अगाडि जति खेलस्थल छन्, जति पनि खुसियाली मनाउने स्थान छन्, त्यहाँ मुसा कति छन् भनेर अध्ययन गरिएको थियो ।’
उनकै जिम्मेवारीमा पर्छ पेरिसको जनस्वास्थ्य । फालिएका खानेकुराको सफाइमा विशेष ध्यान दिन भनिएको छ । भनिएको छ, कतै खानेकुराको फोहोर नरहोस् । अनि सहरका विशेषज्ञले मुसा निस्कन सक्ने ढलका बाहिरी विन्दुलाई बन्द गरिने काम काम गरिरहेका छन् । डेपुटी मेयर बक्स भन्छिन्, ‘जहाँ धेरै मुसा छन्, त्यहाँ प्रतियोगिता सुरु हुनु अगाडि नै जाल राख्ने छौं अनि मुसाको संख्या कम गर्नका लागि रासायनिक औषधि पनि प्रयोग गरिनेछ ।’

आइफल टावरको ठ्याक्कै पछाडि पार्क छ र त्यहाँ बिच भलिबल हुनेछ अनि लुभ्रे बगैंचामा ओलम्पिक ज्योति बालिने छ । यी सबै पेरिस भ्रमणमा आउनका लागि प्रिय पिकनिक स्थल हुन् । यहाँ नै अत्यधिक मुसा छन् । तिनै मुसाले पाहुनालाई आक्रमण गरेको घटना पनि छन् । डेपुटी मेयर बक्स भने मुसालाई सखापै गर्ने पक्षमा पनि छैनन्, किनभने यी मुसाले ढलको सफाइका लागि सहयोग गर्छ । उनी भन्छिन्, ‘मुसा जति ढलमै रहनु ठीक हो ।’
फ्रान्सेली साहित्यमा ‘लेस मिजरेबल्स’ र ‘द फ्यान्टम अफ द ओपेरो’ खुबै लोकप्रिय छ । यसमा फ्रान्सेली राजधानीलाई सफासुग्घर राख्नुपर्छ भनेर समसामायिक ढंगले बहस गरिएको छ । पेरिस सहरको वर्तमान मेयर हुन्, एनी हिडाल्गो । उनी ‘सोसिलिस्ट’ हुन् । उनलाई आफ्नो पदमा कायम रहन ‘ग्रिन्स’ को समर्थन आवश्यक छ । उनका विरोधी भने हिडाल्गोले पेरिसलाई सफा राख्नै नसकेको आरोप लगाउने गर्छन् ।
ती विरोधी भन्ने गर्छन्, पेरिस सहरले आफूलाई मुसा र कुकुरको मलमूत्रबाट मुक्त राख्न सकेकै छैन । सन् २०२१ मा एउटा भाइरल सामाजिक सञ्जालले पेरिसका स्थानीयलाई त्यस्तो तस्बिर पोस्ट गर्न अनुरोध गरेको थियो, जसले त्यसै फालिएका बट्टा, नराम्रो ढंगले मर्मत गरिएका बाटा र अति बढेको हरियाली स्थान देखाउने गर्छ । त्यस सामाजिक सञ्जालको दाबी थियो, यी सबैले पेरिस सहरको सुन्दरतामा चोट पुर्याएको छ, प्रतिष्ठामा आघात पुर्याएको छ ।
त्यसपछि आलोचकको जवाफमा पेरिसको सौन्दर्यका लागि घोषणा–पत्र नै जारी भएको थियो । ओलम्पक अगाडि सहरका कुनाकाप्चा जति सजाइएका छन्, धेरै ऐतिहासिक भवनको पुनर्निर्माण गरिएको छ । डेपुटी मेयर बक्स के भन्छिन् भने मुसाको अत्यधिक संख्या समस्या हुनुमा त्यसै फालिएका खाना र फोहोरी बट्टाको थुप्रो नै हो । उनी भन्छिन्, ‘यी बन्द खानाका बट्टा सबैभन्दा ठूलो समस्या बनेको छ ।’

पेरिस सहरमा बढेको फोहोर र यसले निम्त्याएको समस्याबारे चर्को विरोध गर्नेलाई ‘स्म्यास’ समूह भनिन्छ । उनीहरू सहरका अधिकारीलाई ओलम्पिक आयोजनास्थल त्यसरी नै व्यवस्था गर्न सल्लाह दिन्छन्, जसले सफाइ गर्न सजिलो होस् । पेरिस सहरलाई सफा राख्ने जिम्मा लिएका कामदारको संख्या ७ हजार ५ सय छ । उनीहरूले तीन साताअगाडि हड्ताल गरेका थिए । त्यसै कारण १० हजार टन फोहोर पेरिसमा थुप्रिएको थियो ।
पेरिस ओलम्पिक अवधिभर काम गरेवापत यी कामदारले १ हजार ९ सय युरो बोनसको रूपमा थप पारिश्रमिक पाउने छन् । पेरिस ओलम्पिकका बेला सहरलाई सफा राख्न केही निजी ठेकेदारलाई पनि जिम्मेवारी दिइएको छ । पेरिसका अर्का डेपुटी मेयर एन्टोइन गुइलो भन्छन्, ‘मलाई मुसाबारे खासै चिन्ता छैन, यो ओलम्पिकले नै प्रमाणित गर्नेछ, खासमा यो सहरमा अत्यधिक मुसा छ भन्ने आरोप नै गलत हो ।’ उनी थप्छन्, ‘पेरिसमा मुसा नै नभएको पनि होइन । तर हामी यसको समाधान गर्न सक्षम छौं । खासमा मुसाको समस्या पेरिसका लागि मुख्य मुद्दा नै होइन । यो त अलिकति बढी चर्चा गरिएको विषयमात्रै हो । खासमा व्यंग्यात्मक रूपमा पेरिस धेरै फोहोरी छ भनेर देखाउन नै यस सहरमा मुसा धेरै छन् भनिएको हो ।’