लचिलो मौद्रिक नीति: अर्थतन्त्रलाई थप गतिशील बनाउने, नीतिगत दर घट्यो
News Desk
Jul-26 , 2024 तारिख 01:41 बेलुका

काठमाडौँ — श्रावण ११, २०८१। 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आवको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

राष्ट्र बैंकले गत आवको तुलनामा लचिलो मौद्रिक नीति ल्याएको छ । निजी क्षेत्रमा जाने कर्जा १२ प्रतिशतले वृद्धि गर्ने लक्ष्य मौद्रिक नीतिले लिएको छ ।

सेयर धितोमा लचकता अपनाइएको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितो कर्जामा संस्थाहरूलाई दिइने अधिकतम २० करोडको सीमा खारेज भएको छ । व्यक्तिगत कर्जामा रहेको १५ करोडको सीमा भने यथावत छ ।

मौद्रिक नीतिले उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड दिँदै वित्तीय स्थायित्व कायम हुनेगरी नियामकीय व्यवस्था गरेको छ । समष्टिगत आर्थिक स्थायित्वमा प्रतिकूल असर नपर्नेगरी कर्जा प्रवाहलाई सहज बनाउन मौद्रिक नीति र नियामकीय नीतिबीच तादात्म्यता कायम गरिएको गभर्नर अधिकारीले जानकारी दिए ।

चालु आर्थिक वर्षको बजेटमा सरकारले अनुमान गरेबमोजिम ६ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्न सहयोग पुग्नेगरी तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फउन्मुख गर्ने मौद्रिक नीतिको लक्ष्य छ । यस्तै, विस्तृत मुद्राप्रदायको वृद्धि दर १२ प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धि दर १२ दशमलव पाँच प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको छ ।