News Desk
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोपमा जाहेरी दिने गौशाला २६ ले उच्च अदालतको फैसलाविरुद्ध पुनरावेदन नगरिदिन निवेदन दिएकी छन।
उनले केही दिनअघि उच्च सरकारी वकिल कार्यालय पाटनमा निवेदन दिँदै उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिन आग्रह गरेको उच्च सरकारी वकिल कार्यालय स्रोतले जानकारी दिएको छ।
उनले आफूमाथि बलात्कारको घटना नै नभएको समेत निवेदनमा उल्लेख गरेकी छन। आफूले संस्थाको दबाबमा सन्दीपविरुद्ध जाहेरी दिएको निवेदनमा उल्लेख छ।
स्रोतका अनुसार पीडितले माथिल्लो अदालतमा नजाने भने पनि सरकारी वकिलले चाहेको खण्डमा भने सर्वोच्च जान सक्ने सम्भावना रहन्छ। सामान्यतया पीडितले नै नचाहेपछि मुद्दा सर्वोच्च अदालतमा पुग्ने सम्भावना कमजोर रहन्छ।
सरकारी वकिल कार्यालय तथा महान्यायाधिवक्तालाई निवेदन दिँदै मुद्दालाई थप अगाडि नबढाउन आग्रह गरेको स्रोतले जानकारी दियो। हस्तलिखित निवेदनमा उनले आफ्नो अवस्थाको फाइदा लिने उद्देश्यले केही संस्था र व्यक्तिहरू निरन्तर लागेकाले मुद्दालाई अघि नलान आग्रह गरिएको जनाइएको छ।
उनले पत्रमा सम्मानित अदालतको फैसलामा लिएका आधारहरूलाई सम्मान गर्दै शान्तिपूर्ण जीवन बाँच्न चाहेको उल्लेख गरेकी छन।
गौशाला-२६ ले हालेको बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपलाई दोषी ठहर गरेको थियो। तर उक्त फैसला उल्टाउँदै उच्च अदालत पाटनले जेठ २ गते सन्दीपलाई सफाइ दिएको थियो। फैसलाको पूर्णपाठ बुझेको ७० दिनभित्र पुनरावेदन गर्न सकिने प्रावधान रहेको छ।