News Desk
काठमाडौँ — श्रावण १३, २०८१।
पेरिस ओलम्पिकको शनिबार पहिलो दिनको पूर्ण प्रतिस्पर्धा भएको छ र त्यसको समाप्तिमा अस्ट्रेलिया तीन स्वर्णसहित शीर्ष स्थानमा रहेको छ । अस्ट्रेलियाले पौडीतर्फ बलियो सुरुआत लिएको हो ।
उसको पछाडि चीनको दुई स्वर्ण रहेको छ । पहिलो दिन कुल १३ स्वर्णको निर्णय भएको हो । एक-एक स्वर्ण जित्ने अन्य देशमा अमेरिका, फ्रान्स, दक्षिण कोरिया, बेल्जियम, जापान, काजाकिस्तान, बेलायत, जर्मनी र हङकङ रहेका छन् ।
प्रतियोगिताकै पहिलो स्वर्ण जित्ने खेलाडी भने चीनका रहे । ह्वाङ युटिङ र सेङ लिहाओले दस मिटर एयर रायफल्सको मिक्ड स्पर्धामा स्वर्ण जितेका हुन् ।
पौडीतर्फ अस्ट्रेलियाले महिला चार गुणा सय मिटर फ्रि स्टाइलमा पहिलो स्वर्ण हात पारे । यस्तै ग्रेस ब्राउनले साइक्लिङको महिला टाइम ट्रायलमा स्वर्ण हात पारिन् ।