काठमाडौँ — श्रावण १३, २०८१।
लोकप्रिय ब्यान्ड नेपथ्यले आगामी महिना अमेरिकामा श्रृंखलाबद्ध सांगीतिक यात्रा गर्दैछ । नेपथ्यको यो छैठौं अमेरिका यात्रा हो ।
अमेरिकाको पूर्वी किनारादेखि पश्चिमी किनारासम्मका सात फरक-फरक सहरमा ब्यान्डले प्रस्तुति दिनेछ । आगामी साता अमेरिका उड्ने तयारीमा रहेको ब्यान्डले साउन १९ मा कोलोराडोको राजधानी डेनभर सहरमा पहिलो प्रस्तुति दिनेछ । दोश्रो प्रस्तुति भने अमेरिकाको पश्चिमी तटकै सहर सानफ्रान्सिस्कोस्थित 'वारफिल्ड थिएटर'मा साउन २६ मा हुनेछ । यही हलमा आठ वर्षअघि नेपथ्य गुञ्जिएको थियो ।
ओहायो राज्यको राजधानी कोलम्बसको 'केम्बा लाइभ कन्सर्ट भेन्यू'मा भने ब्यान्डले भदौ १ मा तेस्रो प्रस्तुति पस्कनेछ । त्यसरी नै चौथो प्रस्तुति टेक्सास(भदौ ८), अनि न्यूयोर्कको म्यानहटन(भदौ १४)मा भने पाँचौं प्रस्तुति 'नेपथ्य-साँझ' आयोजना हुने बताइएको छ ।
त्यसलगतै ब्यान्ड दक्षिणतर्फको मेरिल्यान्ड राज्यमा भदौ १६ गुञ्जनेछ । यसरी अमेरिकाका फरक-फरक सहरहरूमा आफूलाई उभ्याइसकेपछि अन्तिम कन्सर्ट पेन्सिलभानियाको ह्यारिसवर्ग सहर 'द फोरम अडिटोरियम'मा प्रस्तुति हुनेछ । नेपथ्यले सन् २००४ मा फिनिक्स र वासिङ्टन डीसीमा आफूलाई प्रस्तुत गर्ने उद्देश्यका साथ पहिलोपटक अमेरिका यात्रा गरेको थियो । त्यसपछि ब्यान्डले न्युयोर्क, सानफ्रान्सिस्को, लस एन्जलस, एटलान्टा, डालास र बोस्टनमा सांगीतिक प्रस्तुति दिइसकेको छ ।
गत वर्ष मात्रै क्यानडामा श्रृंखलाबद्ध सांगीतिक यात्रा गरेको ब्यान्डले अमेरिकामा भने कोभिड महामारीपछि पहिलो यात्रा गर्न लागेको हो ।