News Desk
गोरखा — श्रावण १३, २०८१।
धार्चे गाउँपालिका–५ गुम्दास्थित रेसेफाँटमा गएको पहिरोमा परी घाइते बनेका दुई जनालाई उपचारका लागि काठमाडौं लगिएको छ । कैलाश एयरको हेलिकप्टरमार्फत घाइतेलाई काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
पहिरोमा परी धार्चे गाउँपालिका–५ सिङलाका ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षीय छमबहादुर गुरुङ घाइते बनेका थिए । दिलीपको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
छमबहादुरको अवस्था भने सामान्य रहेको छ । घाइते दुवै जनालाई उपचारका लागि काठमाडौंस्थित टिचिङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ । आइतबार बिहान करिब ३ बजे नान्सेन सामुदायिक वनबाट झरेको लेदोसहितको पहिरोमा परी ५ जना बेपत्ता छन् । स्थानीयको सहयोगमा बेपत्ताको खोजी भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए । ‘अहिले जेसीभी लगाएर पनि खोजी भइरहेको छ,’ उनले भने ।
पहिरोमा परी धार्चे गाउँपालिका–५ रेसेफाँटका ३७ वर्षीय जितबहादुर गुरुङ, उनकी श्रीमती ३५ वर्षीय कान्छी गुरुङ, उनका बुवा ६० वर्षीय सुलाल कान्छा गुरुङ, सिङ्लाका ३३ वर्षीय रमेश गुरुङ र ट्याक्टर चालक २४ वर्षीय रमेश परियार बेपत्ता छन् । पहिरोले जितबहादुर गुरुङले सञ्चालन गर्दै आएको कृषि फर्म र नजिकैको एक घर बगाएको छ ।