'नौलो केही गर्न खोज्यो भने खुट्टा तान्ने चलन छ' : सौरभमान भ​ण्डारी (इभेण्ट​ आयोज​क)
News Desk
Aug-17 , 2024 तारिख 01:15 बिहान

उर्लाबारी । ड्रिम मोडलिङ एजेन्सीका संचालक सौरभमान भण्डारीले अरूले गरिखाएको र नौलो केही गर्न खोज्यो भने खुट्टा तान्ने चलन रहेको भन्दै दु:ख प्रकट गरेका छन् । ड्रिम मोडलिङ एजेन्सीले आयोजना गरेको जुनियर मिस्टर एण्ड मिस उर्लाबारी २०८१ सिजन १ लाई विवादमा ल्याउन खोजिएको भन्दै उनले दु:ख व्यक्त गरे । सौन्दर्य प्रतियोगितामा अन्तर्राष्ट्रिय अभ्यास अनुसार काम नगर्दा विश्वसनीयतामा कमी आउने र थोरै रकममा गर्दा तालिम फितलो हुने साथै घाटा खाएरै कार्यक्रम गर्नुपर्ने स्थित रहने हुँदा आफूहरुले राजधानी काठमाण्डौंमा चलनचल्तीमा रहेको रेटमा झापामै यो सुविधा उपलब्ध गराएको उनको दाबी छ । 'राष्ट्रियस्तरमा हुने रियालिटी शोहरुमा भोटिङ्गबाटै विजेता छनौट गरिन्छ तर हामीले यसलाई पपुलर च्वाईसमा सिमित गर्छौ र फिनालेमा निर्णायककै निर्णय अन्तिम हुन्छ, अर्थात यो बाध्यत्मक छैन यो कुरा कतिपयले बुझ्नु हुँदैन । अरूले गरिखाएको र नौलो केही गर्न खोज्यो भने खुट्टा तान्ने र आफ्नो बच्चा नै विजेता बन्नु पर्छ भन्ने मान्यताले बेलाबखतमा समस्या र उल्झनमा बेरिनुपर्दा दुख लाग्दो रहेछ' भण्डारीले बताए।

विगतमा अन्य एजेन्सीले गर्दै आएका कार्यक्रमका विजेताहरुलाई टाईटल घोषणा पश्चात खासै वास्ता नगर्ने अवस्थाले त्यस नगर क्षेत्रमा हुने अन्य कार्यक्रम फलदायी हुन नसकिरहेको हो भने त्यो दोष नविन दृष्टिकोणसहित आएको ड्रिम मोडलिङ एजेन्सी होस् वा अन्य कुनै पनि आयोजक उनीहरुको थाप्लोमा हाल्न नमिल्ने भण्डारीको भनाई छ । कसैले कार्यक्रमहरुलाई अवसरका रुपमा लिने र कसै कसैले आफ्नो स्वार्थपूर्ति नहुँदा नकारात्मक रूपमा टिप्पणी गर्ने चलन यथावत रहेको उनको बुझाई छ । 'मुख्य कुरा जुनियर मिस्टर एण्ड मिस उर्लाबारी सहभागी बालबालिका र अभिभावकहरु कत्तिको सन्तुष्ट हुनुहुन्छ भन्ने हामीले हेर्ने हो, र यसमा हामी ढुक्क छौं कि उहाँहरु सन्तुष्ट हुनुहुन्छ । नगर क्षेत्रमा वृहत कार्यक्रम गर्दै गर्दा चर्चा परिचर्चा पनि हुन्छ र हुनुपर्छ । यो स्वभाविक हो तर हामीलाई बदनाम गर्ने र शोलाई असफल बनाउन लाग्नु चाही अस्वभाविक हो, यस्ता कुण्ठित मानसिकता बोकेका जमातहरु भोलीका दिनमा आफै सच्चिने दिन आउँछ । यो एक नियम नै हो' उनले पछिल्लो समय शो को विषयमा अनर्गल प्रचार गर्न खोजिएकोमा दुख प्रकट गर्दै भने । 

उनका अनुसार जुनियर मिस्टर एण्ड मिस उर्लाबारी २०८१ मा मिस र मिस्टरतर्फ क्रमश: ३४ र १३ जना प्रशिक्षणमा रहेका छन् । २० दिनसम्म हुने उक्त प्रशिक्षण अन्तर्गत  फोटो शुट, भिडियो शुट, नेतृत्व विकास, क्यामेरा फेसिङ क्लास, नृत्य, कोरियोग्राफर वाक,  फुटसल खेल आदी कार्य भइरहेका छन् । बालबालिकाको अन्तर्निहित प्रतिभाको उजागर एवं व्यक्तित्व विकास गर्ने उदेश्यसहित आयोजनामा आएको भण्डारीले बताए । यस सौन्दर्य प्रतियोगिताले सहभागी बालबालिकाको बौद्धिक सुन्दरता र प्रतिभालाई समाजमा स्थापित गर्न र सामाजिक दायित्व निर्वाह गराउने अवसर प्रदान गर्ने पनि उनले बताए।

'सौन्दर्य प्रतियोगीता आफैमा महंगो ईभेण्ट हो, विद्यालय भिजिट एवं फर्म वितरण, अडिसन, करिव एक महिनासम्म विभिन्न जीवन उपयोगी सीप विकास प्रशिक्षण तालिम दिएर बालबालिकालाई तयार पार्ने क्रममा हल भाडा, प्रशिक्षण शुल्क, मसलन्द खर्च, ट्यालेण्ट राउण्ड हुँदै फिनालेमा हुने मेकअप, फिनाले ड्रेस, कार्यालय र जनशक्ति आदीमा हुने खर्च जोड्दा यो खर्चिलो हुन्छ । अहिलेको अवस्थामा स्पोन्सर पाउँन सहज पनि छैन यो अवस्थामा ईभेण्ट गर्न चुनौती छ' भण्डारीको गुनासो छ ।

धेरै पढिएको