News Desk
भारतीय सन्त पाइलट बाबाको ८६ वर्षको उमेरमा भारतको मुम्बइस्थित एक अस्पतालमा आज निधन भएको छ।
मकवानपुरको त्रिखण्डीमा हरि गिरी महाराज नामका नेपाली सन्तसँग उनले सन १९७४ मा दीक्षा लिएको संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले जानकारी दिए।
नेपाली गुरुसँग शिक्षा लिनुअघि उनी भारतीय वायुयान सेवामा पाइलट रहेकाले उनलाई पाइलट बाबा भनिएको हो। यही नामले उनी प्रशिद्ध भए।
पाइलट बाबाले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित घ्याम्पेडाँडामा पाइलट बाबा आश्रम बनाएका छन। आश्रममा उनी बेला बेलामा आएर बस्ने गर्थे।
नेपालमा उनका चिकित्सकलगायत विभिन्न पेशा र व्यवसायमा आबद्ध धेरै शिष्य छन। भारतको प्रयागमा हुने प्रत्येक कुम्भ मेलामा जाँदा नेपालीलाई बस्ने, खानेलगायत सुविधा दिई उनले आश्रय दिने गरेका थिए।
पाइलट बाबा बिहारको सहर्षा जिल्लाको राजपरिवारका सदस्यका रुपमा जन्मिएका थिए। हरिद्वार र गङ्गोत्रीलगायत धेरै स्थानमा उनले जुना अखडा नामका आश्रम चलाउने गरेका थिए। उनलाई महामण्डलेश्वरको पदवीसमेत दीएको थियो।
जुना अखडाका सबै आश्रममा आजैदेखि तीन दिनसम्म शोक मनाउने जनाइएको छ। उनलाई उत्तराखण्डको पवित्र भूमिमा समाधि गरिने भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन।