धनुषास्थित एक पोखरीमा डुबेर बुधवार तीन बालकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार साँझ धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर-७ लक्ष्मीनियामा रहेको पोखरीमा डुबेर ३ बालकको मृत्यु भएको हो।
मृत्युहुनेमा १४ वर्षीय सुशान्त साह, ९ वर्षीय आयुश साह र १० वर्षीय आदित्यकुमार साह रहेका प्रहरी निरीक्षक साहले जानकारी दिए। धनुषा प्रहरी प्रवक्ता रञ्जन आवाका अनुसार बच्चाहरू हजुरबुवा महावीर साहको घरमा भोज खान आएका थिए।
बुधबार महावीर साहको घरमा वर्षीको भोज आयोजना गरिएको थियो। डुब्ने बालकहरू महावीर साहका तीन छोरीका जेठा छोराहरू रहेको प्रवक्ता आवाले बताए। घटना आज साँझ साढे ७ बेजेतिरको हो।
तीनैजना बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ।
सबै भोजमा व्यस्त रहेका बेला बच्चाहरू पोखरीमा पौडी खेल्न जाँदा डुबेको वडाध्यक्ष गंगा साहले बताए। घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिए।