कांग्रेस-एमाले प्रजातन्त्रविरुद्ध जान सक्दैनन : देउवा
News Desk
Sep-18 , 2024 तारिख 05:51 बिहान

सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस-एमाले दुवै पार्टी प्रजातन्त्रका लागि लडेको हुनाले उनीहरु कुनै पनि हालतमा प्रजातन्त्रको खिलाफमा हुनै नसक्ने दोहोर्‍याएका छन। 

कांग्रेसको कानून विभागले मंगलवार पार्टी मुख्यालय सानेपामा आयोजना गरेको संविधानको एक दशकः कार्यान्वयन र चुनौती विषयक विचार गोष्ठीमा सभापति देउवाले कांग्रेस-एमाले प्रजातन्त्रविरुद्ध जान नसक्ने बताएका हुन।

‘ओलीजी प्रधानमन्त्री हुँदा उहाँले संविधान संशोधन गर्नसक्ने कुरा भन्नुभएको छ। त्यो प्रजातन्त्रको खिलाफमा होइन‚ प्रजातन्त्रलाई अझ मजबुत बनाउने गरी संविधानमा सुधार‚ संशोधन हुने कुरा हुन सक्दछ‚’ उनले भने, ‘एमाले हामीसँग प्रजातन्त्रका लागि लडेको पार्टी हो। हामी प्रजातन्त्रको लागि पहिलेदेखि नै लडेर आएको हो। त्यसैले प्रजातन्त्रको खिलाफ कुनै पनि काम हुन सक्ने छैन।’

विचार गोष्ठीमा सभापति देउवाले प्रदेश संरचना नहट्ने बरु यसलाई अझै उत्तरदायी र पारदर्शी बनाउनुपर्ने पनि बताएका छन।

प्रदेश संरचना आवश्यक नरहेको टिप्पणी भइरहेका वेला उनले बनिसकेको प्रदेश संरचना हटाउन सक्ने अवस्था नभएको धारणा राखेका छन। उनले प्रदेश संरचनालाई अझै बढी उत्तरदायी र पारदर्शी बनाउने गरी सुधार्नुपर्ने बताए। 

‘केही कुरा अहिले यहाँ उठेको छ, साथीहरुले उठाउनुभएको छ- प्रदेश सरकारको सम्बन्धमा। प्रदेश संरचना बनिसकेको छ‚ यो संरचना हट्ने कुरा छैन‚ हटाउन सक्ने स्थिति पनि छैन‚’ उनले भने, ‘यसलाई कसरी अझ उत्तरदायी बनाउने, कसरी अझ बढी एकाउन्टेबल बनाउनेदेखि लिएर त्यो अनुरुप यसमा सुधार गर्ने कुराहरु हुन सक्दछ।’

सभापति देउवाले समावेशी सिद्धान्त सबैका लागि आवश्यक भएकाले त्यसैअनुसार अघि बढ्नुपर्ने बताए।

महिला, दलित, आदिवासी, जनजातिलगायत समुदायलाई शासन प्रणालीमा सहभागी गराउन र राज्यको शासन प्रणालीमा अपनत्व महशुस गराउन पनि समानुपातिक समावेशी सिद्धान्त अझै आवश्यक भएको उनले बताए। 

 

धेरै पढिएको