News Desk
काठमाडौं, ७ असोज २०८१ – बालअधिकार, संरक्षण, सहभागिता र सुरक्षा प्रवर्द्धन गर्ने उद्देश्यले सोमबार नयाँवनेश्वरस्थित अल्फा हाउसमा सञ्चारमाध्यम अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सिविसले आयोजना गरेको कार्यक्रममा बालअधिकारको वकालत गर्न र उनीहरुको हित सुनिश्चित गर्न मिडियाको भूमिकाबारे छलफल गर्न सञ्चारकर्मी, नागरिक समाजका सदस्यहरू र बालबालिकालाई भेला गराइएको थियो ।
सो अवसरमा कार्यक्रमको अध्यक्षता गर्दै सिविसकी अध्यक्ष विमला ज्ञवालीले बालबालिकाको सुरक्षा र अधिकारसँग सम्बन्धित विषयलाई प्रवर्द्धन गर्न सञ्चारमाध्यमको महत्वपूर्ण जिम्मेवारी रहने बताईन् । 'बालबालिकामा लगानी हामी सबैको सुरक्षित भविष्यको आधार हो' उनले आफ्नो सम्बोधनमा जोड दिदै भनिन्। कार्यक्रमको सुरुआती क्रममा सिविसकी टिम लिडर रुजा पोखरेलले स्वागत मन्तव्य राख्दै बाल संरक्षण क्षेत्रमा मिडियाको संलग्नताको महत्व बारे प्रकाश पारिन् ।
कार्यक्रममा प्रमुख वक्ता बालअधिकारकर्मी युवराज घिमिरेले बालअधिकार, बाल संरक्षण र सञ्चारबीचको सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले बालबालिकाको पहिचान र अधिकारको रक्षा गर्ने नैतिक पत्रकारिता मापदण्डहरूमा जोड दिँदै बालबालिकाका मुद्दाहरूमा रिपोर्टिङका लागि आवश्यक प्रोटोकल बारे प्रकाश पारे । नेपालले बालअधिकारसम्बन्धी महासन्धि ९१९८९० अनुमोदन गरी महत्वपूर्ण कानुनी कदम चालेको भए पनि बालश्रम, शोषण र सार्थक बाल सहभागिताको अभाव रहेको औंल्याए । उनका अनुसार आवश्यक भए पनि ३०३ स्थानीय तहमध्ये ९ जनाले मात्रै बाल कल्याण अधिकृत नियुक्त गरेको , २३ स्थानीय तहलाई बालमैत्री घोषणा गरिए पनि बाल संरक्षण नीतिको पूर्ण कार्यान्वयनका लागि धेरै काम गर्न बाँकी रहेको जनाए ।
उनले बालबालिका ऐन, २०७५ र बाल श्रम ९निषेध तथा नियमन० ऐन, २०५६ लगायत नेपालको कानुनी ढाँचामा बाल संरक्षणलाई कसरी सम्बोधन गरिएको छ भन्ने कुराको पनि जानकारी गराउदै सोको कार्यान्वयनमा रहेका कमीहरूलाई ध्यान दिनुपर्ने बताए ।
बालअधिकारकर्मी घिमिरेले सञ्चारकर्मी र बालअधिकार पक्षधरहरूबीचको सहकार्यमा सबै प्रकारका सञ्चारमाध्यममा बालसम्बन्धी मुद्दाहरूको निरन्तर र जिम्मेवारीपूर्ण कभरेज सुनिश्चित गर्नका लागि जोड दिनुपर्ने उल्लेख समेत गरे।
त्यसैगरी, पोलिगन कलेजका प्रिन्सिपल अविरल थापाले बालबालिकासँग सम्बन्धित विषयलाई प्रवर्द्धन गर्न पत्रकारिता शिक्षाको भूमिका विषयक सत्रको नेतृत्व गरेका थिए । थापाले विश्वविद्यालय स्तरमा बालबालिकाका विषयमा गरिएका विभिन्न अनुसन्धान अध्ययन र सञ्चारकर्मीहरूले कसरी यी विषयहरूलाई आफ्नो रिपोर्टिङमा प्रभावकारी रूपमा समावेश गर्न सक्छन् भन्ने विषयमा प्रकाश पारेका थिए। उनले पत्रकारहरूलाई बालबालिका सम्बन्धित समाचारहरूमा राम्रो ध्यान केन्द्रित गर्न र नियमित कभरेज सुनिश्चित गर्न समाचार कक्षहरूमा बालबालिकाहरूको डेस्क सिर्जना गर्न पहल गर्न प्रोत्साहित गरे।
कार्यक्रममा सहभागीहरुले सञ्चारमाध्यममा बालअधिकार रिपोर्टिङको वर्तमान अवस्था र यसलाई सुधार गर्ने उपायका बारेमा सामूहिक छलफल गरेका थिए ।
२५ जना सञ्चारकर्मी प्रतिनिधि, ५ बालबालिका र ५ नागरिक समाजका सदस्यहरू सहित ३५ जना सहभागीको साथमा भएको अन्तरक्रियालाई नीति र अभ्यास दुवैमा बालअधिकारलाई प्राथमिकतामा राखेर मिडियाको भूमिकालाई सुदृढ पार्ने दिशामा आवश्यक कदमको खाँचो औंल्याएका थिए ।
