मिथिलाञ्चल क्षेत्रमा जितिया पर्वअन्तर्गत ३६ घण्टे निर्जल र निराहार उपवास शुरु
News Desk
Sep-24 , 2024 तारिख 06:50 बिहान

मिथिलाञ्चल क्षेत्रमा जितिया पर्वअन्तर्गत ३६ घण्टे निर्जल र निराहार उपवास शुरु भएको छ।

धार्मिक विधिअनुसार श्रद्धालु मंगलबार बिहान ४ बजेदेखि बुधबार साँझ ५ बजेसम्म उपवास बस्न लागेका हुन।

पर्वअन्तर्गत अघिल्लो दिन नहा खा विधि सम्पन्न भई दुईदिन उपवास बसेर साँझ व्रत समापन गरिने परम्परा रहेको जलेश्वरनाथ महादेव मन्दिरका पुजारी पण्डित उपेन्द्र पाठकले जानकारी दिए।

सयौँ व्रतालुले जिल्लाको विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा लक्ष्मी सागर, बरुणसागर, भार्गवसरलगायत पवित्र सरोवरमा स्नान गरेर जितमाहनको कथा सुन्छन। कथा भन्ने र सुन्ने क्रममा पाकाले भन्ने र तन्नेरीले सुन्ने प्रचलन रहेको पण्डित पाठकले बताए।

व्रतको पहिलो दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ (कोदो) भनिन्छ। भोलिपल्ष्ट बिहानै काग कराउनुअघि पहिल्यै व्रतालु महिला ओगठन सम्पन्न गर्नुपर्छ। ओँगठनपछि उपवासको क्रम शुरु हुने भन्दै यसलाई पर्वको मुख्य अंश र मुख्य जितिया भन्ने गरिएको । 

आश्विन कृष्ण पक्षको अष्टमीका दिन मनाइने यो व्रतको मिथिलाञ्चल क्षेत्रमा विशेष महत्व छ ।

सन्तानको दीर्घ जीवन, सन्तान प्राप्ति तथा पारिवारिक सुखशान्तिका लागि मनाइने यसले मिथिलाका महिलाको साँस्कृतिक भूमिका, महत्त्व र आस्था उजागर गर्छ l

 पितृ पक्षमा मनाइने यो पर्वमा महिलाले दिवङ्गत पितृको सम्झनामा पिण्ड चढाउँछन। मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र मानिनछ।

धेरै पढिएको