संविधानविपरीत न्यायाधीश नियुक्ति सिफारिश गरे नेपाल बार एशोशिएशनले बहिष्कार गर्ने चेतावनी
News Desk
Sep-26 , 2024 तारिख 12:37 बेलुका

न्यायपरिषद्ले संविधानविपरीत न्यायाधीश नियुक्ति सिफारिश गरे नेपाल बार एशोशिएशनले बहिष्कार गर्ने चेतावनी दिएको छ। नेपाल बारले बुधवार पनि विरोध प्रदर्शन गर्दै यस्तो चेतावनी दिएको हो।

नेपाल बारले नेपालको संविधानको धारा १४१ को (१) र (३) विपरीत हुनेगरी बिदाई हुने वेलामा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको न्याय परिषद्ले न्यायाधीश नियुक्तिको सिफारिशका लागि बैठक बोलाउने निर्णय गरेको भन्दै त्यसको विरोधमा बाध्य भएर खबरदारी सभालगायत विरोधको कार्यक्रमलाई निरन्तरता दिएको जानकारी गराएको हो।

‘न्याय परिषद्को गैर संवैधानिक नियमावलीको विरोधमा नेपाल बार एशोसिएशनले एक वर्षदेखि भन्दा पनि नसुनेपछि हामी बाध्य भएर अस्ति न्याय परिषद मिटिङको दिन धर्नामा रह्यौँ। आज पनि न्याय परिषद्को बैठक छ भन्ने जानकारी मा आएकोले गर्दा हामी बाध्य भएर आज यो खबरदारी सभा गरेका हौँ‚’ अध्यक्ष घिमिरेले भने, ‘न्याय परिषद्को बैठक बसेर यो कुरालाई अगाडि बढाउने कोशिस भयो भने हामी पुनः धर्नामा बस्छौँ। पेलेर गए हुनसक्छ– त्यसरी न्यायाधीश नियुक्त गरियो भने ती न्यायाधीशहरुको बहिष्कारको कार्यक्रम पनि ल्याउन सक्छौँ।’

यसअघि पनि बारले न्याय परिषद्को बैठकमा धर्ना दिएपछि ती समस्या समाधानका लागि सुझाव दिन कार्यदल गठन गरिएको थियो। 

तर सो कार्यदलमा समेत कुनै कुरा नराखीकन न्याय परिषद्को बैठकबाट न्यायाधीश नियुक्तिका लागि सिफारिश गर्ने असंवैधानिक कदम अघि बढाउने प्रयास गरेपछि बाध्य भएर निरन्तर रुपमा धर्नालगायत विरोध प्रदर्शनका कार्यक्रम अघि बढाउने निर्णय लिनुपरेको बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बताए। 

नेपाल बारले असोज १० गते बिहीवार अपराह्न १ बजेपछि न्याय परिषद्को असंवैधानिक कदमको विरोधमा भन्दै सर्वोच्च अदालत परिसरमा धर्ना दिने जनाएको छ।

धेरै पढिएको