News Desk
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यही असोज १४ गते सोमवार एकैदिन ५५९ हवाई उडान भए। ती उडानमार्फत ३५ हजार ७०४ जनाले हवाईयात्रा गरे।
आन्तरिक र अन्तरराष्ट्रिय गरी दुवै यो उडान र यात्रु सङ्ख्या सम्भवतः हालसम्मकै बढी भएको विमानस्थलले जनाएको छ। असोज १५ गते मंगलवार हेलिकप्टरसहित ५११ उडान भए। बुधवार आन्तरिकतर्फ हेलिकप्टरसहित १८२ उडान र १८२ वटा अवतरण भएका थिए।
साथै अन्तरराष्ट्रियतर्फ ५२ वटा उडान र ५२ वटा अवतरण भएका थिए। यसबाट १५ हजार ९६२ यात्रुले सेवा लिएका थिए। कार्यालयका अनुसार गत सोमवार कूल ५९९, मंगलवार ५११ र बुधवार ४७३ वटा उडान भएका छन। बिहीवार र शुक्रवार केही उडान चाप घटेको छ।
दैनिक सरदर आन्तरिक र अन्तरराष्ट्रिय दुवैगरी ४ सय हाराहारी उडान हुने गरेकामा अहिले १ सयदेखि १५० सम्म थप उडान व्यवस्थापन गर्नु परिरहेको विमानस्थलले जनाएको छ।
यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्चालन अवरुद्ध भएपछि विकल्पको रुपमा रहेको हवाई उडानमा अत्यधिक चाप बढेको हो।
उडान चाप ह्वात्तै बढेपछि केही एयरलाइन्सले उडान सङ्ख्या पनि थपेका छन। अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तरराष्ट्रिय दुवै उडानमा चाप हुँदा विमानस्थलको टर्मिनलमा भीडभाड बढेको छ भने एयरलाइन्सलाई उडान व्यवस्थापनमा हम्मे हम्मे परिरहेको छ।
विमानको उडान सङ्ख्या बढेपछि विमानस्थलमा एयर ट्राफिक चाप बढेको छ। आन्तरिकमा धेरै उडान एकदेखि दुई घण्टासम्म ढिला हुने गरेका छन। ान्तरराष्ट्रियतर्फ एकघण्टा भन्दा बढी समयसम्म विमान होल्डमा बसेर अवतरण गर्नुपरेको छ।