नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष डा भीम रावलसहितका नेताहरुलाई स्पष्टीकरण सोध्ने
News Desk
Oct-21 , 2024 तारिख 06:24 बिहान

नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष डा भीम रावलसहितका नेताहरुलाई स्पष्टीकरण सोध्ने भएको छ।

आइतवार साँझ पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले पार्टीको निर्णयविरुद्ध अभिव्यक्ति दिने नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। 

बैठकपछि सञ्चारकर्मीसँग पार्टीका महासचिव शंकर पोखरेलले लामो समय पार्टी नीतिसँग असहमत राखेर पार्टीको निर्णय र आचरणविपरीत अभिव्यक्ति दिएकोमा पार्टीका पूर्वउपाध्यक्ष रावललाई स्पष्टीकरण सोधिएको बताए। 

पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका सन्दर्भमा चलिरहेका छलफल र बहसमा पार्टी निर्णयविरुद्ध जाने र गएका पार्टी नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको उनले बताए। 
उनले पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले पार्टी निर्णयविपरीत सार्वजनिक रुपमा अभिव्यक्ति दिएकोमा पनि स्पष्टीकरण सोध्ने निर्णय भएको बताए। 

‘पछिल्ला घटनाक्रमका बारेमा छलफल गरेका छौँ। पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका सन्दर्भमा चलिरहेका छलफल र बहसहरुमा पार्टी निर्णयविरुद्ध जाने पार्टीका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय भएको छ‚’ उनले भने, ‘लामो समय पार्टी नीतिसँग असहमति राखेर विचार प्रकट गरिरहनुभएका पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई पनि स्पष्टीकरण सोध्ने निर्णय भएको छ। पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे, केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले पार्टी निर्णयविपरीत सार्वजनिक रुपमा अभिव्यक्ति दिनुभएकोमा के कति कारणले उहाँहरुले त्यसप्रकारका गतिविधि गरिरहनुभएको छ स्पष्टीकरण सोध्ने निर्णय भएको छ।’

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन विशेष समितिले सिफारिश गरेअनुसार कारबाही प्रक्रिया अघि बढेको बताए।

धेरै पढिएको