News Desk
सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले विवादित व्यवसायी मीनबहादुर गुरुङबाट दान लिएको जग्गाको विवाद सर्वोच्च अदालतमा पुगेको छ।
ललिता निवास जग्गा काण्ड र कर छलीमा मुछिएका गुरुङले घुसबापत जग्गा दान दिएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला रिट निवेदन सर्वोच्चमा पुगेको हो।
भाटभटेनीका सञ्चालकसमेत रहेका गुरुङबाट जग्गा दान स्वीकार गर्ने पार्टीको निर्णयविरुद्ध बोल्ने पार्टीका पूर्वउपाध्यक्ष भीम रावलसहितका ३ जना नेतासँग स्पष्टिकरण सोध्ने निर्णय एमालेले गरिसकेको छ।
पार्टी भित्र र बाहिर विरोध भइरहेका बेला अधिवक्ता डा ज्ञानबहादुर बस्नेत जग्गा दान र भवन निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन लिएर पुगेका हुन।
सोमवार अदालत प्रशासनले दरपीठ गरेको उक्त रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठले दर्ता गर्न आदेश दिएका छन।
निवेदन विहिबार दर्ता हुने सम्भावना रहेको छ। अब एमालेले मीनबहादुरबाट भएको जग्गादानको विवाद अदालतले टुंगो लगाउने अपेक्षा गरिएको छ।