आईपीएलमा राजस्थानको आक्रामक सुरुआत, चेन्नई सुपर किंग्स १६ रनले पराजित
News Desk
Sep-23 , 2020 तारिख 09:48 बिहान

शारजहाँ — आश्विन ७, २०७७। 

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबार चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गरेको छ । सन् २००८ मा आयोजित पहिलो संस्करणको विजेता राजस्थानले यस संस्करणको आफ्नो पहिलो खेलमा २ सय १६ रनको विशाल स्कोर बनाउँदै खेल जितेको हो ।

चेन्नईले ६ विकेट गुमाई २ सय रनमात्र बनाउन सक्यो । कप्तान महेन्द्रसिंह धोनीले अन्तिम ओभरमा टम कुरानलाई लगातार तीन छक्का प्रहार गरे पनि चेन्नईलाई दोस्रो खेलमा भने जित दिलाउन सकेनन् । फाफ डु प्लेसिसले लगातार दोस्रो अर्धशतक बनाउनेक्रममा ३७ बलमा ७२ रन जोडे पनि चेन्नईलाई राजस्थानको स्कोर निकै ठूलो भएको थियो ।

डु प्लेसिसले १ चौका र ७ छक्का प्रहार गरे । मुरली विजय २१, शेन वाटसन ३३, साम कुरान १७ र केदार जादब २२ रनमा आउट भए । धोनी १७ बलमा २९ रन बनाई अविजित रहे । राजस्थानका स्पिनर राहुल टेवाटिआले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । त्यस्तै जोफ्रा आर्चर, श्रेयस गोपाल र टम कुरानले १–१ विकेट लिए ।

यसअघि शारजहाँ क्रिकेट रंगशालामा सन्जु सामसन र कप्तान स्टिभ स्मिथको सानदार अर्धशतकमा राजस्थान रोयल्सले ७ विकेट गुमाई २ सय १६ रनको विशाल स्कोर बनाएको थियो । टस हारेपछि ब्याटिङमा बोलाइएको राजस्थानबाट ओपनर स्मिथले ६९ र सामसनले ७४ रन बनाए ।

यी दुईले दोस्रो विकेटमा १० ओभरभित्र १ सय २१ रन जोडेका थिए । सामसनले ३२ बल खेल्दै १ चौका र ९ छक्कासहित ७४ रन बनाए । १९ औं ओभरमा आउट भएका स्मिथले ४७ बलको इनिङ्समा समान ४ चौका र छक्का प्रहार गरे । जोफ्रा आर्चर ८ बलमा २७ रन बनाई अविजित रहे । उनले लुङ्गी एनगिडीलाई इनिङ्सको अन्तिम ओभरमा लगातार चार छक्का प्रहार गरेका थिए, त्यसमा लगातार दुई नो–बल पनि रहेको थियो ।

चेन्नईका साम कुरानले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । उनका दाइ टम कुरानले राजस्थानबाट ९ बलमा अविजित १० रन बनाएका थिए । पीयूष चावला र दीपक चाहरले समान एक विकेट लिए ।

चेन्नईले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको थियो ।

(कान्तिपुर दैनिक)