News Desk
आधारभुत कम्प्युटर कोर्ष तालिम सम्पन्न
सुनसरी । बराहक्षेत्र नगरपालिका वडा नं. १० सुनसरीको सहयोगमा अनुपमा कम्प्युटर इन्स्टिच्युट तथा स्क्रिन प्रिन्ट सेन्टरद्धारा संचालित ३ महिने आधारभुत कम्प्युटर कोर्ष तालिममा सहभागी विद्यार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । बराहक्षेत्र नगरपालिका १० नम्बर वडाका वडा अध्यक्ष तेज बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा सचिव श्री प्रसाद उराँव, वडा सदस्यहरु पदमा विष्ट, पार्वती वि.क., नेत्र बहादुर जोगी, पत्रकार समिर चन्द्रवंशी, कम्प्युटर प्रशिक्षक अनु मगर लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । अध्यक्षसँग युवा स्वरोजगार कार्यक्रम अन्र्तगत वडामा रहेका ९४ जना युवा युवतीहरुले कम्प्युटरको आधारभुत तालिम हासिल गरेका छन् ।
सो अवसरमा प्रमाण पत्र वितरण गर्दै तालिमले सहभागीहरुको प्रविधि सम्बन्धी ज्ञान, सीप, धारणाको विकास भई स्वरोजगारमा समेत टेवा पुग्ने वडा अध्यक्ष तेज बहादुर गुरुङ्गले बतााउनु भयो । नेपाल सरकारले विभिन्न प्रकारका सीपमुलक तथा रोजगारमुलक तालिमहरु समयानुसार संचालन गरिरहेको हुदाँ तालिम लिएर काम गरेको खण्डमा स्वरोजगारमा बृद्धि हुने वडा सचिव श्री प्रसाद उराँवले बताउनु भयो । आजको समयमा कम्प्युटरको आधारभुत तालिमले मात्र नभएर कम्प्युटर डिप्लोमा सम्मको तालिम उलब्ध भएमा छिटो काम पाउने र रोजगारमा समेत बृद्धि हुने सहभागी विद्यार्थीहरुले बताउनु भएको थियो । बिगत ११ वर्ष देखि बराहक्षेत्र नगरपालिका वडा नं. १०, प्रकाशपुरमा अनुपमा कम्प्युटर इन्स्टिच्युटले कम्प्युटर सम्बन्धीका विभिन्न तालिमहरु संचालन गर्दै आएको र कम्प्युटर कोर्ष पुरा गरेर स्वदेश तथा विदेशमा समेत राम्रो रोजगार पाएको इन्स्टिच्युटका संरक्षक फडिन्द्र अधिकारी झटारेले जानकारी दिनुभयो । उक्त तालिम गत जेठ १० गते देखि २०८१ असार २० गतेसम्म ९० घण्टा संचालनमा रहेको थियो ।