छठ पर्वः आस्थाको महापर्वको रौनक तराईदेखि पहाडसम्म
News Desk
Nov-06 , 2024 तारिख 07:01 बिहान

नेपालमा छठ विशेषगरी तराई क्षेत्रमा विशेष आस्थाका साथ मनाइने गरिन्छ भने अहिले काठमाडौं उपत्यका, देशका पहाडी क्षेत्रहरू, र प्रवासी नेपालीहरूले समेत छठको तयारी गरिरहेका छन। पोखरी, जलाशय, नदी किनाराहरू सजाउन तथा सरसफाइ गर्न व्यस्त देखिन्छन्, र अहिले अधिकांश ठाउँहरू झिलिमिली बत्तीसहित रंगीन देखिन्छन। 

तराईको वीरगञ्जस्थित घडीअर्वा पोखरीमा विशेष साजसज्जा गरिएको छ। यहाँ रंगीचंगी झिलिमिली बत्तीको झलरले पोखरीको सौन्दर्यलाई थप निखारिएको छ। प्रत्येक वर्ष झैं यस वर्ष पनि छठको झलमल्ल सजावट हेर्न विदेशी पर्यटकहरूको समेत घुइँचो लाग्ने अनुमान गरिएको छ। 

धनगढीको मोहना घाटमा विशेष तयारी

धनगढीको मोहना घाटमा पनि छठ पर्वको विशेष तयारी भइरहेको छ। विगत लामो समयदेखि मोहना घाटमा छठ पूजा कार्यक्रम आयोजना गर्दै आएको छठ पूजा सेवा समिति, धनगढी यसवर्ष पनि पर्वलाई भव्य बनाउन जुटेको छ। समितिका अध्यक्ष सन्तोष मण्डलका अनुसार झन्डै एक महिनादेखि मोहना घाटमा सरसफाइ, साजसज्जा र पूजास्थल निर्माणको काम भइरहेको छ। उनले घाटको सजावट, बत्तीहरूको व्यवस्था र पूजास्थलको विशेष साजसज्जाले यसवर्षको छठ पर्वलाई अझै आकर्षक बनाएको बताए।

पशुपति र रानीपोखरीमा विशेष तयारी

काठमाडौंको पशुपति, रानीपोखरी लगायतका स्थानहरूमा पनि छठ पर्वको तयारी भईरहेको छ। प्रत्येक वर्ष यहाँ छठ पर्व विशेष गरि तराईमधेशले मनाउँछन। अहिले यी स्थानहरूमा पण्डाल निर्माण, घाट सजावट तथा सरसफाइमा विशेष ध्यान दीएको छ। भक्तजनहरूलाई पूजा गर्न सजिलो होस भनेर पण्डालमा फूल, बत्ती तथा विशेष सजावट गरिएको छ।

सूर्य भगवान्को आस्था र प्रकृतिप्रति सम्मान

छठ पर्व विशेष गरि सूर्य भगवान्को पूजा गरी मनाइन्छ। यो पर्व प्राकृतिक शक्तिप्रति सम्मान प्रकट गर्दै आराधना गर्ने पर्व हो। साँझपख अस्ताउँदो सूर्यलाई पूजा गरेपछि भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन। यस पर्वमा व्रतालुहरू पानीमा उभिएर सूर्य देवतालाई अर्घ दिन्छन र आफ्नो तथा परिवारको सुख-समृद्धिका लागि प्रार्थना गर्छन। 

नेपालका विभिन्न क्षेत्रमा मनाइने यो पर्वले धार्मिक र सांस्कृतिक महत्व मात्र नभई, समाजमा एकताको सन्देश पनि प्रवाहित गर्दछ।

धेरै पढिएको