गङ्गाजमुना मेला भव्यताका साथ सम्पन्न, ४० हजार बढीको सहभागीता
News Desk
Nov-14 , 2024 तारिख 01:27 बिहान

धादिङ २८ कात्तिक । धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका स्थित ढाडखर्कमा रहेको गंगाजमुना माईमेला २०८१ भव्यताका साथ सम्पन्न भएको छ । 

गंगाजमुना गाउँपालिकाको आयोजनामा सोमबार र मंगलबार भएको कार्यक्रममा ४० हजार बढी भक्तजनको सहभागीता रहेको गाउँपालिका पर्यटन विकास समितिका संयोजक एवम वडा नं ६ का वडाअध्यक्ष रमेश ढकालले जानकारी दिनुभयो । 

उक्त दुईदिने मेलाको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गर्नुभएको थियो । सोमबार बिहानैदेखि झरनाको फेदीमा जम्मा भएका भक्तजनले मंगलबार एकादशीको दिन बिहान त्यही स्नान गरी पूजाआजा गरि मनाएका छन । 

तीन सय मिटर माथि पहराको टुप्पोबाट खस्ने गङ्गा र जमुना नामका दुई झरना रहेका छन । झरनामा नुहाएर मनले चिताएको पूरा होस भनेर आर्शिवाद माग्ने चलन छ । झरना झरेको पहराको बीचमा रहेको मन्दिरमा गएर गंगाजमुनाको पूजाआजा गर्ने गरिन्छ । 

उक्त झरनाको नामबाटै गाउँपालिकाको नामसमेत रहन गएको हो । मेलाको अघिल्लो दिनमा फूलको डोली ल्याएर रातभर जाग्राम बसेर भोलिपल्ट डोरी तार्ने चलनसमेत रहेको छ । 

एकादशीको दिन बिहान गङ्गाजमुनाको छहरामा स्नान गरी डोली तार्ने, बत्ती सेलाउने र पहरामा रहेको भगवान गङ्गाजमुनाको दर्शन गरी फर्किने चलन छ । गङ्गाजमुना झरना र कुकुर धारा नुहाउँदा कुकुरले टोकेको दोष निवारण हुने तथा परिवारमा सुखशान्ति र संमृद्धि छाउने,वर्षभरि कुकुर वा अन्य कुनै जनावरले टोकेमा निको हुने,सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहि आएको संयोजक ढकालले बताउनुभयो ।