News Desk
त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपप्राध्यापक पदको लिखित परीक्षा विज्ञापन भएको चार वर्षपछि भोलि (शुक्रबार) हुने भएको छ। त्रिभुवन विश्वविद्यालय सेवा आयोगका प्रमुख केदारनाथ ढकालले भोलि उपप्राध्यापक पदको लिखित परीक्षा हुने जानकारी दिए।
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सूचना जारी गरेर कात्तिक ३० गतेका लागि तय गरिएको उपप्राध्यापक पदको परीक्षा यथावत रहेको पनि जानकारी दिएको छ। ‘बाहिर जे जस्तो हल्ला भए पनि परीक्षा भोलि नै हुन्छ, परीक्षा रोकिँदैन’‚ उनले भने।
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले २०७७ सालमा ५८१ उपप्राध्यापक छनोटका लागि विज्ञापन गरेको थियो तर विज्ञापनका विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा पर्याे। उक्त मुद्दाको फैसला भएपछि आयोगले लिखित परीक्षा लिन लागेको हो। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले २०७८ पुसमै खुला प्रतिस्पर्धाबाट प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक नियुक्त गर्न अन्तरिम आदेश जारी गर्दै स्थगन गरिएको परीक्षा अविलम्ब सञ्चालन गर्न निर्देशन दिएको थियो।
उक्त परीक्षा भोलि बिहान ८ बजेदेखि सञ्चालन हुनेछ। रत्नराज्य मावि, लोक सेवा आयोगको कार्यालय अनामनगर, नन्दी मावि नक्साल, स्वप्नवाटिका एकेडेमी लगायत परीक्षा केन्द्र तोकिएको छ।
४१ सय शिक्षकले दिँदै उपप्राध्यापकको परीक्षा
त्रिभुवन विश्वविद्यालय सेवा आयोगका प्रमुख ढकालका अनुसार भोलि (शुक्रबार) २०७७ फागुन ९ गते र २०७८ आषाढ १५ गते प्रकाशित विभिन्न विज्ञापनहरूमध्ये व्यवस्थापन, शिक्षाशास्त्र,मानविकी तथा सामाजिकशास्त्र र कानून संकाय अन्तर्गतका विषयहरूको उपप्राध्यापक पदको लिखित परीक्षा सञ्चालन हुनेछ।
चार हजार एक सय शिक्षकले उक्त परीक्षा दिने जानकारी दिए। दोस्रो पत्रको परीक्षा भने बिहान ९ बजे देखि १२ बजेसम्म सञ्चालन हुने कार्यतालिका छ।
सबै विश्वविद्यालय ठप्प पार्ने चेतावनी
त्रिवि सेवा आयोगले भोलि उपप्राध्यापक पदको परीक्षा सञ्चालन गर्ने तयारी गरिरहँदा यता आंशिक प्राध्यापक/शिक्षकहरूले भने उक्त परीक्षाको विरोध जनाएका छन। माग पूरा नभए सबै विश्वविद्यालय ठप्प पार्ने आंशिक प्राध्यापक संघ केन्द्रीय संघर्ष समितिले चेतावनी दिएको छ।
उनीहरूले परीक्षा रोकेर आफूहरूलाई करार बनाउने प्रक्रिया अगाडि बढाउन माग गर्दै आएका छन। उक्त मागअनुसार नै गत साउन १८ गते आंशिक प्राध्यापक संघ केन्द्रीय संघर्ष समिति र वार्ता तथा राय सुझाव समितिबीच सहमति भएको थियो।
उक्त सहमतिपत्रसहितको निर्णयपत्रमा भनिएको छ, ‘त्रिविद्वारा प्राडा रामकृष्ण तिवारीको संयोजकत्वमा गठित वार्ता तथा राय सुझाव समितिको प्रतिवेदनबमोजिम आंशिक प्राध्यापक संघ केन्द्रीय संघर्ष समिति र वार्ता तथा राय सुझाव समितिबीच गत साउन १८ मा भएको समझदारीबमोजिम त्रिभुवन विश्वविद्यालयका ६२ वटै आङ्गिक क्याम्पस/केन्द्रीय विभागहरूमा कार्यरत स्थायी, अस्थायी र करार प्राध्यापकहरूले त्रिवि नियमानुसार पूर्ण कक्षाभार लिई बाँकी रहेको कक्षाभारलाई आधार मानी पूर्ण कक्षाभार भएको विषयमा मात्र ज्येष्ठता र योज्ञ्तासमेतका आधारमा त्रिविको स्वीकृत रिक्त दरबन्दीमा करार सेवाको शिक्षण सहायक पदमा नियुक्ति प्रक्रिया अगाडि बढाउने प्रयोजनार्थ निम्नबमोजिमको तीन सदस्यीय स्थलगत अध्ययन कार्य टोली गठन गर्ने र सो टोलीको कार्यादेश देहायबमोजिम हुने गरी सो टोलीले पेस गरेको प्रतिवेदनका आधारमा शिक्षण सहायक नियुक्ति कार्यविधि निर्माण गरी शिक्षण सहायक पदसम्बन्धी प्रक्रिया सम्बन्धित क्याम्पस/केन्द्रीय विभागमार्फत अगाडि बढाउने निर्णय गरियो।’
तर उक्त निर्णयानुसार काम नभएको आंशिक प्राध्यापक संघ केन्द्रीय संघर्ष समितिले जनाएको छ। ‘केही आंशिक प्राध्यापकहरूले विश्वविद्यालय ठप्प पार्ने भन्ने कुरा आएको छ, अब ती माग त्रिविले सम्बोधन गर्दै जान्छ’‚ त्रिवि सेवा आयोगका प्रमुख ढकालले भने।
‘आन्दोलन गरे पनि परीक्षा रोकिँदैन’
त्रिभुवन विश्वविद्यालय सेवा आयोगका प्रमुख ढकालले भोलि विश्वविद्यालय बन्द गरी आन्दोलन नै भए पनि उपप्राध्यापक पदको परीक्षा नरोकिने बताए। ‘यतिका वर्ष भइसक्यो विज्ञापन भएको तर अहिलेसम्म परीक्षा हुन सकेको छैन, बल्ल भोलि हुँदै छ लामो समयपछि, त्यसैले भोलि हुने परीक्षा कुनै हालतमा रोकिँदैन’‚ उनले भने।
आयोगले गत साउन २ गते पनि प्रकाशित विभिन्न विज्ञापनहरूमध्ये खुला प्रतियोगिताअन्तर्गत उपप्राध्यापक पदको परीक्षा भाद्र ५ गतेदेखि सञ्चालन हुने गरी सूचना प्रकाशन गरेको थियो तर विवादकै कारण त्यस वेला परीक्षा हुन सकेको थिएन।