News Desk
नेकपा एमालेले शुक्रवार आयोजना गर्न लागेको जनसभामा ५० हजार कार्यकर्ता उतार्ने दावी गरेको छ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले विधिको शासन र कानुनी राज्यका पक्षमा जनतालाई जागरूक बनाउन जनसभा आयोजना हुन लागेको बताए।
प्रमुख गौतमले भने, “भोलिको जनसभाको अन्तिम तयारी पूरा भइसकेको छ। यो मूलतः हामीले लक्षित गरेको जनसमूहलाई उपस्थित गराएर विधिको शासन र कानुनी राज्यका पक्षमा जनतालाई जागरण गर्ने कार्यक्रम हो।”
उनले जनसभामा ५० हजार कार्यकर्तालाई सडकमा उतार्ने योजना रहेको बताए।
उनले भने, “त्यसका लागि काठमाडौँ, भक्तपुर र ललितपुर, नगर र गाउँपालिका, जनसङ्गठनको बैठक गरेर पार्टीले आवश्यक जनपरिचालनको योजनालाई कार्यान्वयन गर्ने योजना छ। भोलि लक्षित ५०औँ हजार मानिसलाई सडकमा उतार्ने गरी योजना बनाएका छौँ।”
उनले ट्राफिक कम तथा पुतलीसडक र लैनचौर मार्ग खुला रहने गरी दरबारमार्गमा सभा हुने जानकारी दिए।
उनले भने, “दुवैतिरका सडकहरू, पुतलीसडक उता लैनचौर मार्ग खुला गर्ने गरी दरबारमार्गमा कम ट्राफिकिङ हुने भन्ने कुरा पार्टीको स्थानीय जनता, साथीभाइको सुझावसमेत ध्यानमा राखेर भद्रकालीमा साढे ११ बजे भेला भएर वीर अस्पताल हुँदै दरबारमार्गमा भेला हुने र कार्यक्रम गर्ने।”
उनले एमालेको जनसभाले सुशासन, विकास र समृद्धिको पक्षमा सन्देश दिन खोजेको बताए।