पौडेल र श्रेष्ठलाई जनही आठवर्ष कैद र जरिवाना फैसला
News Desk
Nov-29 , 2024 तारिख 12:45 बेलुका

विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई जनही आठवर्ष कैद र तीन करोड  ४२ लाख २२ हजार आठसय बिगो र सोही बराबर जरिवाना निर्धारण गरेको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशद्वय खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले आज अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पौडेल र श्रेष्ठलाई उक्त सजाय निर्धारण भएको हो।

अदालतले पौडेल र श्रेष्ठलाई गत कात्तिक १४ गते दोषी ठहर गरेको थियो। अन्तःशुल्क स्टिकर छपाइको भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन मुख्यसचिव वैकुण्ठ अर्यालसहितलाई सफाइ दिने निर्णय सुनाएको थियो। उक्त मुद्दामा विशेषले पौडेल र श्रेष्ठलाई दोषी ठहर गरेको थियो।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते १२ जनाविरुद्ध मुद्दा दायर गरेको मुद्दामा अन्तःशुल्क स्टिकर खरिदमा अनियमितता गरेको कसुरमा ३८ करोड ६७ लाख १७ हजार छसय ४० बिगो असुल गर्न माग दावी गरेको थियो।