News Desk
नेपाली हस्पिटालिटी क्षेत्रका ख्यातिप्राप्त विशेषज्ञ तथा प्रशिक्षक विलास खत्रीले बैंककमा सम्पन्न एशिया एजुकेशन कन्क्लेभमा आयोजित ‘एशिया एजुकेशन अवार्ड’ समारोहमा ‘कर्पोरेट ट्रेनर अफ द इयर’ अवार्ड प्राप्त गरेका छन। होटल अमरीमा आयोजित समारोहमा खत्रीलाई कर्पोरेट प्रशिक्षणमा पुर्याएको उल्लेखनीय योगदान र आतिथ्य क्षेत्रमा उनको परिवर्तनकारी प्रभावका लागि सम्मान गरिएको हो।
खत्रीको यो उपलब्धिले कर्पोरेट शिक्षा र विकासमा उनको गहिरो विशेषज्ञता र प्रभावशाली भूमिका झल्काएको छ। उनी हाल हयात रिजेन्सी, नेपालमा लर्निङ एण्ड डेभलपमेन्ट म्यानेजरका रूपमा कार्यरत छन। आतिथ्य क्षेत्रमा ३० वर्षभन्दा बढी अनुभव सँगालेका खत्रीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कर्पोरेट प्रशिक्षण र आतिथ्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन। उनको नेतृत्वले प्रशिक्षण र सार्वजनिक भाषणमा विभिन्न उद्योगका पेशेवरहरूलाई प्रेरित गर्दै आएको छ।
एशिया एजुकेशन कन्क्लेभ एशिया, भारतीय उपमहाद्वीप र मध्य पूर्वका शिक्षामा अग्रणी व्यक्तित्वहरूलाई एकसाथ ल्याउने विश्वव्यापी मंच हो। यो सम्मेलनले उच्च-प्रभावशाली सम्मेलनहरू, पुरस्कार समारोहहरू, र नेटवर्किङ कार्यक्रमहरू आयोजना गर्दै शिक्षामा नवीनता, सहकार्य र प्रगतिलाई प्रवर्द्धन गर्ने लक्ष्य राख्छ। यसले शिक्षकहरू, प्रशासकहरू, सल्लाहकारहरू र प्राविधिक विशेषज्ञहरूलाई शिक्षाको नयाँ दिशा तय गर्न सहयोग पुर्याउने स्थान प्रदान गर्दछ।
अवार्ड पाएकोमा खत्रीले कृतज्ञता व्यक्त गर्दै भने, “यस्तो प्रतिष्ठित कार्यक्रमबाट सम्मानित हुन पाउँदा गर्वको महसुस भएको छ। यो अवार्डले कर्पोरेट तालिम प्रवर्द्धन गर्ने र नेपाल तथा अन्तर्राष्ट्रिय हस्पिटालिटी उद्योगमा योगदान दिन मैले लिएको प्रतिबद्धतालाई अझ मजबुत बनाउँछ।”
खत्रीको यो सम्मान नेपाली हस्पिटालिटी क्षेत्रका लागि कोसेढुङ्गा साबित भएको छ। यसले विश्वव्यापी कर्पोरेट प्रशिक्षण र शैक्षिक नेतृत्वमा नेपालको उदीयमान प्रभावलाई अझ उजागर गरेको छ।