News Desk
मंसिर १३, काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर १५ डल्लुमा अवस्थित लिटिल बुद्ध एकेडेमीमा राष्ट्रिय सेवा दल (णतिओनल चदेत चोर्प्स - ण्च्च्) को पहिलो चरणको तालिम सम्पन्न भएको छ।
नेशनल प्याब्सन बागमती प्रदेशका अध्यक्ष तथा लिटिल बुद्ध एकेडेमीका संस्थापक प्राचार्य नारायण कर्म कार्कीको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा जगदल गण छाउनीका सेनानी सरोज के।सी।को उपस्थिति रहेको थियो। कार्यक्रममा तालिम पूरा गरेका विद्यार्थीहरूलाई दोस्रो चरणको तालिमका लागि बिदाइ गरिएको थियो।


पहिलो चरणको तालिम सम्पन्न गरेपछि ३६ जना विद्यार्थीहरू मंसिर १६ गते २१ दिने क्याम्पिङका लागि बर्दिबास जाने भएका छन। उनीहरूले पहिलो चरणमा ७९ दिनको तालिम पूरा गरेपछि दोस्रो चरणका लागि जाने तय भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सेनानी सरोज के।सी।ले तालिममा सहभागी सबै विद्यार्थीहरूलाई बधाई दिँदै सामूहिक र संस्थागत तालिममा सिकाइएका सीपहरू व्यवहारमा लागू गर्नुपर्ने बताए। उनले यस प्रकारको तालिमले अनुशासन, नेतृत्व विकास, र विपत व्यवस्थापनको भावना जागृत गर्न मद्दत गर्ने उल्लेख गरे। साथै, उनले यो तालिमले राष्ट्रभक्त युवा तयार गर्न ठूलो भूमिका खेल्ने पनि स्पष्ट पारे।

तालिमका क्रममा क्याडेटहरूलाई शारीरिक तन्दुरुस्ती र सीप विकासका लागि विभिन्न गतिविधिहरू प्रदान गरियो। पिटी, ड्रिल, एरोबिक्स, गन फायरिङ (एसएलआरद्वारा र यसको मर्मतसम्भार), पर्खाल चढ्ने, घोडचढी, पौडी खेल्ने, वक्तृत्वकला, बालुवा मोडेल ब्रिफिङ, सांस्कृतिक कार्यक्रम, र खेलकुद जस्ता गतिविधिहरू तालिममा समावेश गरिएका थिए। प्राचार्य नारायण कर्म कार्कीका अनुसार यस्ता तालिमहरूले विद्यार्थीहरूलाई शारीरिक तन्दुरुस्तीमा समेत योगदान पुर्याउँछन।

कार्यक्रममा प्रमुख प्रशिक्षक जमदार गणेश चौधरी, कमल रुचाल, धर्मराज बोहोरा, दिव्यज्ञान एकेडेमीका भाइस प्रिन्सिपल चतुरभुज महतो, लिटिल बुद्ध एकेडेमीका सहायक प्रधानाध्यापक शंकर घिमिरेलगायतका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। दिव्यज्ञान स्कुलका प्रिन्सिपल तथा नेशनल प्याब्सनका उपाध्यक्ष डम्बर कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए।

राष्ट्रिय सेवा दलका विद्यार्थीहरूले ड्रिल प्रदर्शन, खुकुरी प्रदर्शन, जुम्बा एरोबिक्स, र तेक्वान्डोका प्रदर्शनहरू प्रस्तुत गरेका थिए। उक्त तालिममा कक्षा ८ देखि १० सम्मका १४ वर्षमाथिका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।

