News Desk
नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसिएटिभ (BRI) अन्तर्गत सहकार्य फ्रेमवर्कमा हस्ताक्षर सम्पन्न भएको छ। बेइजिङमा सम्पन्न समारोहमा नेपालका परराष्ट्र सचिव अमृत राई र चीनको डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष ल्यु सुशेले हस्ताक्षर गरेका हुन्। यो सहकार्यले नेपाल र चीनबीच पूर्वाधार विकास, व्यापार विस्तार, र लगानी प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
फ्रेमवर्कमा समावेश गरिएका परियोजनाहरूमा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक परियोजना, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग, र डडेलधुरास्थित अमरगढी सिटी हलजस्ता प्रमुख योजना रहेका छन्। यस्तै, रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क र झापामा स्पोर्ट्स एन्ड एथलेटिक्स कम्प्लेक्स निर्माण योजना पनि समावेश गरिएको छ।
यस सहमतिले नेपाल र चीनबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ। यस्तै, परियोजनाहरूका लागि अनुदान र सहुलियतपूर्ण ऋणमा जोड दिनुपर्ने नेपालले स्पष्ट पारेको छ, किनभने उच्च ब्याजदरले नेपालको कमजोर अर्थतन्त्रलाई थप दबाब दिन सक्ने चिन्ता व्यक्त गरिएको छ |