रवि लामिछाने र छविलाल जोशीविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी
News Desk
Dec-05 , 2024 तारिख 12:53 बिहान

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका पूर्व सञ्चालक पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध वीरगञ्जको सानो पाइला सहकारीको बचत अपचलन प्रकरणमा पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

पर्साका प्रहरी प्रमुख कुमुद ढुंगेलका अनुसार अदालतले आज उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। अनुसन्धानका क्रममा लामिछाने प्रबन्ध निर्देशक रहेका बेला सहकारीबाट ८ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा पुगेको देखिएको छ।

यसअघि पनि कास्की, रुपन्देही, काठमाडौँ र चितवनमा उनीहरूमाथि पक्राउ पुर्जी जारी भइसकेको छ। हाल लामिछाने कास्की प्रहरीको हिरासतमा छन। प्रहरीले उनलाई विभिन्न जिल्लाहरूमा लगेर बयान लीरहेको छ। आज चितवनमा बयान गराएपछि उनलाई पर्सामा लगिनेछ। रुपन्देही र काठमाडौँमा भने पहिले नै बयान लीसकिएको छ।

यो प्रकरणले सहकारी क्षेत्रको वित्तीय अनुशासनमाथि प्रश्न उठाएको छ भने प्रहरी अनुसन्धानले थप खुलासा गर्ने अपेक्षा गरिएको छ।