युनाइटेड नेचर इन्टरनेसनल पिस (UNIPUN) द्वारा काभ्रेको बाढी पहिरो पीडितलाई राहत वितरण
News Desk
Dec-05 , 2024 तारिख 02:54 बिहान

काभ्रे, २०८१ मंसिर १९ — युनाइटेड नेचर इन्टरनेसनल पिस (UNIPUN) र बंगलादेशका UNIPUN सदस्यहरूको विशेष उपस्थितिमा काभ्रे जिल्लाको रोशी गाउँपालिका–१ अन्तर्गत फलामे साँघु–ताङ्लीङ क्षेत्रका बाढी र पहिरो पीडित परिवारलाई ब्ल्यान्केट वितरण गरिएको छ।

नेपालमा हालै आएको बाढी र पहिरोले पुर्‍याएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै UNIPUN ले रोशी खोलाबाट प्रभावित ८४ परिवारलाई ब्ल्यान्केट वितरण गरेको हो। चिसो मौसममा यो सहयोगले पीडितहरूको दैनिक जीवनमा केही राहत दिने अपेक्षा गरिएको छ।

कार्यक्रमको उद्घाटन युनाइटेड नेचर इन्टरनेसनल पिस नेपाल च्याप्टरका अध्यक्ष भिक्षु डा. राजु लामा कोन्दनले रोशी गाउँपालिका वडा नं. १ का कार्यवाहक अध्यक्षलाई राहत सामग्री हस्तान्तरण गर्दै गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि भिक्षु डा. राजु लामा कोन्दन र बंगलादेशका अध्यक्ष डा. राजु शाहले सम्बोधन गर्दै दुवै देशका सदस्यहरूबीचको सहकार्यले यस प्रकारको सामाजिक कार्यलाई अझ प्रभावकारी बनाएको बताउनुभयो।

कार्यक्रमको सभापतित्व रोशी गाउँपालिकाका कार्यवाहक अध्यक्षले गर्नुभएको थियो भने सञ्चालन UNIPUN का सदस्य दीपक चन्द्र गौतमले गर्नुभएको थियो। संयोजनमा UNIPUN नेपालका सदस्यहरू दीपेश माझी र सूर्य कार्कीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

स्थानीयवासीहरूले यस सहयोगप्रति आभार व्यक्त गर्दै चिसोमा यो राहतले ठूलो सहायता पुगेको बताएका छन्। युनाइटेड नेचर इन्टरनेसनल पिसले आगामी दिनमा पनि यस्ता राहत कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।