पाल्पाका स्थानीयले मोबाइल फोनको टावरले काम नगर्दा फोन र इन्टरनेट सेवा लिनबाट बञ्चित
News Desk
Dec-05 , 2024 तारिख 11:20 बिहान

पाल्पाका स्थानीयले मोबाइल फोनको टावरले काम नगर्दा फोन र इन्टरनेट सेवा लिनबाट बञ्चित भएका छन् । नेपाल टेलिकमको टावर नहुँदा जिल्लाको माथागढी गाउँपालिका वडा नं.५ र ६ का स्थानीय बासिन्दा फोन र इन्टरनेट सेवाबाट बञ्चित भएका हुन् । माथागढीको दुई वडाका दश बढी गाउँमा अहिले पनि टावर बिस्तार नहुँदा फोन सेवाबाट स्थानीय बासिन्दा बञ्चित छन् ।

माथागढी वडा नं. ५ को हात्तीलुङ्, माौलाथर, ढाडकुन, बंशीडाँडा, मझुवा, तारुक, बगबास, दमार, माथा गाउँ मोबाइल सेवाबाट बञ्चित भएका छन् । यस्तै वडा नं.६ को केही गाउँमा पनि मोबाइलको टावरले काम नगरेको स्थानीय बासिन्दाको गुनासो छ । टेलिकमको टावरले काम नगर्दा आफूहरूले फोन सेवासमेत प्रयोग गर्न नपाएको स्थानीय बाासिन्दा टोपकुमार सारुले गुनासो गर्नुभयो ।

यस भेगका लागि छुट्टै टावर राख्नुपर्ने भएपनि हालसम्म पनि टावर स्थापना नभएको जनप्रतिनिधि बताउँछन् । यहाँका बासिन्दाको पहुँच पुग्ने गरी टावर स्थापना गर्न टेलिकसँग पहल भइरहेको माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो ।

टेलिकमसँग सहजीकरण गरेर त्यस क्षेत्रमा नयाँ टावर राख्नका लागि पहल भइरहेको र अब तत्कालै काम हुने उहाँले जानकारी दिनुभयो । स्थानीय बासिन्दा फोनसेवा लिन अर्कै गाउँमा जानुपर्ने बाध्यता रहेको छ । नेपाल टेलिकमले भने यो वर्ष टावर बिस्तार गर्ने योजना रहेको जनाएको छ । यो वर्ष त्यस भेगलाई समेट्ने गरी टावर राख्नका लागि पालिकासँग छलफल भइरहेको नेपाल टेलिकम पाल्पाका सूचना अधिकारी श्रीराम रेग्मीले बताउनुभयो ।