News Desk
यो वर्षको पहिलो शिकार याममा १० नाउर र पाँच झारलको शिकार गरिएको छ। नेपालको एकमात्र वैधानिक शिकार खेल्न मिल्ने ढोरपाटन शिकार आरक्षमा यस वर्षको पहिलो शिकार याममा १२ नाउर र आठ झारलको शिकार गर्न चार कम्पनीमार्फत १२ विदेशी शिकारीले अनुमति प्राप्त गरेका थिए।
एउटा नाउरको शिकार गर्न अनुमति प्राप्त शिकारी आउन नपाएको र एक शिकारी नाउर शिकार गर्न असमर्थ भएको ढोरपाटन शिकार आरक्ष कार्यालय बागलुङले जनाएको छ।
जङ्गली जनावर नाउर र झारलको शिकार गर्न यस पटक अमेरिका, स्पेन, नेदल्याण्ड र मेक्सिकोका १२ व्यावसायिक शिकारीले अनुमति प्राप्त गरेका थिए। जसमध्ये अमेरिकाका एक शिकारी राजस्व बुझाएर समेत नाउरको शिकार खेल्न ढोरपाटन नआएको तथा अर्का अमेरिकाकै शिकारीले नाउर मार्न असफल भएको शिकार आरक्ष कार्यालय बागलुङका सूचना अधिकारी पशुपति अधिकारीले जानकारी दिए।
यस्तै विदेशी शिकारीले तीन वटा झारल शिकार गर्न असमर्थ भएको अधिकारीको भनाइ छ। सात बनेलको शिकार अनुमति पाएका शिकारीले शिकार नै नगरेको आरक्षको भनाइ छ।
ढोरपाटन क्षेत्रमा बर्सेनी (असोज–मङ्सिर) पहिलो याम र (फागुन–वैशाख) मा दोस्रो याम गरी दुई चरणमा शिकार हुँदै आएको छ। शिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन शिकार आरक्ष कार्यालयले आफ्ना कर्मचारी र शिकारीका भरिया सम्बन्धित शिकार ब्लकमा खटाइएको हुन्छ।
ढोरपाटन शिकार आरक्ष कार्यालय बागलुङका प्रमुख संरक्षण अधिकृत चन्द्र शेखर चौधरीले बनेल शिकार गर्न विदेशीले रुचि नदेखाएको बताउनुभयो। बनेलका लागि नेपाली शिकारीलाई समेत अनुमति खुला गरेपनि आवेदन नपरेको उनले बताए।
उनका अनुसार पहिलो शिकार याममा ग्लोवल सफारिज नेपाल प्रालि, नेपाल ट्राभल एक्पेडिसन प्रालि, हिमालयन वाइल्डलाइफ आवटफिटर्स, स्युचाटार, काठमाडौँ र ओपन नेपाल वाइल्डलाइफ सफारिज ट्रेक प्रालिमार्फत शिकारीलाई अनुमति दीएको थियो।
शिकार आरक्ष क्षेत्रलाई सात वटा ब्लकमा विभाजन गरिएको छ। सेङ, बार्से, सुर्तिवाङ, फागुने, घुस्तुङ, दोगाडी र सुनदह ब्लकमा शिकार गरिएको छ। पेशेवर विदेशी शिकार कम्पनीका प्रतिनिधिसहितको टोली लिएर हेलिकप्टरमार्फत शिकार खेल्न आरक्षमा पुग्छन।
खर्चिला र साहसी शिकारीले विकटमा रहेका ‘ब्लक’ मा शिकार खेल्न रुचि राख्ने गरेको शिकार आरक्ष कार्यालयले जनाएको छ। शिकारीसहित नेपाली सेना र आरक्षको समूह अधिकतम १५ दिन जङ्गलमै समय बिताउँछन।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक शिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर शिकारको कोटा र राजस्व दर निर्धारण गर्छ। साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ। यो वर्ष एउटै नाउरको अधिकतम १८ लाखसम्म राजस्व सङ्कलन भएको आरक्ष कार्यालयको भनाइ छ।
नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एक शिकारीले करिब २० लाखदेखि ३० लाख खर्च गर्छन। २०४४ सालमा स्थापना भएको ढोरपाटन शिकार आरक्ष बागलुङ, रुकुमपूर्व र म्याग्दी जिल्लाको एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।