News Desk
चाइना फाउन्डेसनको सहयोग एवं ग्लोबल कोअर्डिनेशन फर रुलर डेभलपमेन्टको ब्यवस्थापनमा काठमाडौंका केहि विद्यालयहरु र ललितपुर जिल्लाको गोदावरी नगरपालिकामा रहेका करिब १४ वटा विद्यालयका विद्यार्थीहरुलाई दैनिक १५० याम. एल प्रति विद्यार्थी दुध सेवन गराउने गरिएको कुरा जानकारी प्राप्त भएपछि नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल र बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरेको टिली दुध सेवन गराउने गरेको विद्यालय मध्येको श्री पथ प्रदर्शक माध्यमिक विद्यालय ललितपुर बडिखेल गोदावरीमा विद्यार्थीहरुलाई दुध सम्बन्धि जानकारी गराउँदै दुध सेवन कार्यक्रममा समाबेश भएको कुरा एसोसिएसनका केन्द्रिय सदस्य रमेश सन्जेलले जानकारी गराए ।
प्रत्येक दिन बिहान कक्षामा प्रवेश गर्नु अगाडि नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई नोभेम्बर महिनाको ११ तारिकबाट २६० दिनसम्म दुध र हप्तामा एक दिन खिर खुवाउने गराउने गरेको कुरा विद्यालयकी प्र.अ शान्ति कुमारी अधिकारीले बताइन् ।
नेपाल डेरी एसोसिएसनले बिगत १० वर्षदेखि अन्तर्राष्ट्रिय विद्यालय दुध दिवस मनाउने गरेको र सो अवसरमा विद्यालयमा विद्यार्थी, अस्पतालमा बिरामी, आश्रम लगायत ठाँउमा दुध पान गराउने गरेको कुरा एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरेले जानकारी गराए । फाउन्डेसनले शुरु गरेको दिवा खाजा कार्यक्रममा दुईजना स्थानीयलाई खाजा ब्यवस्थापनका लागि जागिर समेत उपलब्ध गराएको, "मुस्कुराउँदै गरेका नेपाली विद्यार्थीहरुका लागि खाजा कार्यक्रम" भन्ने नाराका साथ अत्यन्तै उपयुुक्त वातावरणमा स्थानीय बाँसबाट बनाइएको किचन समेत बनाइएको जानकारी एसोसिएसन ललितपुरका कोषाध्यक्ष हुद्दराज तिमल्सिनाले बताए ।
यसरी विद्यार्थीहरुलाई दुध खुवाउनु अत्यन्तै राम्रो भएको र दुध पूर्ण खाद्य पदार्थ भएकोले विद्यार्थीलाई नियमित सेवन गराउँदा विद्यार्थीहरुलाई शारीरिक र मानसिक रुपमा निकै फाइदा पुग्ने कुरा ललितपुरमा रहेको नव प्रभात डेरी उद्योगका निर्देशक सुरेश तिमल्सिनाले बताए ।
यसरी बिदेशीहरुले नेपाली विद्यार्थीहरुको बारे सोचेर नियमित दुध सेवन गराएको जानकारी हुने बित्तिकै आफू विद्यालयमा आई थप जानकारी लिएको र अब यो बिषयमा सम्बन्धित निकायमा कुरा राखी अन्यत्र विद्यालयमा पनि शुरु गर्न सरकारलाई अनुरोध गर्ने र नेपाल डेरी एसोसिएसनले पनि समय समयमा दुध उपभोग गराउन थुप्रै कार्यक्रम गरेको कुरा एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाले जानकारी गराए।