News Desk
कास्कीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सङ्घर्षशील बचत तथा ऋण सहकारी सञ्चालक समिति अध्यक्ष विक्रम पाण्डे र सचिव कमल सुवेदी पक्राउ परेका छन्।
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीको प्रारम्भिक अनुसन्धान प्रतिवेदनअनुसार पोखरा महानगरपालिका-२३ स्थित कार्कीको तहरामा रहेको उक्त सहकारीमा करिब ३ करोड रुपैयाँ अपचलन भएको छ।
बचतकर्ताको रकम हिनामिना भएकाले अनुसन्धान गरिदिन सहकारी रजिष्ट्रार कार्यालयले आइतवार प्रहरीलाई गरेको अनुरोधपछि उनीहरु पक्राउ परेका हुन्।
प्रहरीले सहकारीका अध्यक्ष धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-६ घर भई पोखरा–८ नयाँबजार बस्ने ३३ वर्षीय विक्रम पाण्डे र सोही सहकारीका सचिव पोखरा–३१ बेगनास घर भएका ३४ वर्षीय कमल सुवेदीलाई पक्राउ गरेको हो।
उनीहरुलाई सोमवार कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान अघि बढाएको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले बताए।
सङ्घर्षशीलका निक्षेपकर्ताको बचत फिर्ता नगरेको र हिनामिना भएको भन्दै बचतकर्ताले सहकारी रजिष्ट्रार कार्यालयमा निवेदन दिएका थिए।
जिल्ला प्रहरी कार्यालय कास्कीले सोमवार पीडित बचतकर्ताहरुलाई उजुरी दिन अपिल गरेको छ। कास्कीमा अहिले ७ सहकारीका मुद्दा अदालतमा विचाराधीन छन्।
प्रहरीले सोमवार सूचना जारी गर्दै ठगिएका बचतकर्ताहरुलाई पुस २० गतेभित्र उजुरी दिन आग्रह गरेको छ।
सूचनामा “सहकारी संस्थामा बचतकर्ता रही सहकारीबाट बचत तथा शेयर रकम फिर्ता नपाउनु भएका पीडित व्यक्तिहरुले सहकारीमा रकम जम्मा गरेको आधार देखिने शेयरधनी प्रमाणपत्र, पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दति प्रमाणपत्रलगायतका प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकतासमेतको परिचय खुल्ने कागजसहित कानुनबमोजिम सहकारी ठगी शीर्षकमा जाहेरी दरखास्त लिई यस जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क राख्नु हुन सम्पूर्ण बचतकर्तामा सूचित गरिएको” उल्लेख छ।