News Desk
देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। हाल पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहँदा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहीबार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने अनुमान गरिएको छ। पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ भने गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनुको साथै एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ। तराई तथा उपत्यकाका केही क्षेत्रमा बिहानको समयमा कुहिरो लाग्न सक्ने पूर्वानुमान गरिएको छ।
शुक्रबारबाट अर्को मौसमी प्रणालीको प्रवेश हुने भएकाले बदली र वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताइन्। उनका अनुसार, ‘शुक्रबार रातिदेखि मौसममा परिवर्तन आउँदै शनिबार वर्षाको सम्भावना देखिएको छ।’
महाशाखाले देशभर बदली हुने तर सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा मात्र वर्षा हुने अनुमान गरेको छ।