News Desk
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी फागुन १५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी अगाडि बढाएको छ। विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार निर्वाचन प्रक्रिया अघि बढाउन आवश्यक तयारी थालिएको छ।
हालै सम्पन्न त्रिविका शिक्षाध्यक्ष एवं परिषद्का अध्यक्ष प्राडा खड्ग केसीको अध्यक्षतामा बसेको बैठकले स्ववियु निर्वाचनलाई तय भएको मितिमा सम्पन्न गर्न सम्पूर्ण तयारी गर्ने निर्णय गरेको थियो। निर्देशक अधिकारीले विद्यार्थी सङ्गठनहरूसँग चाँडै छलफल गरी निर्वाचन कार्यलाई अघि बढाइने जानकारी दिएका छन।
उनले भने, ‘विद्यार्थी कल्याण परिषद्को बैठकबाट स्ववियु निर्वाचनलाई तोकिएको मितिमा सम्पन्न गर्ने विषयमा छलफल भएको छ। अब चाँडै विद्यार्थी सङ्गठनहरूसँग संवाद गरेर प्रक्रिया अघि बढाउने तयारीमा छौँ।’
त्रिविले शैक्षिक क्यालेण्डरअनुसार नै स्ववियु निर्वाचनको मिति निर्धारण गरेको हो। तर, प्रत्येक दुई/दुई वर्षमा गरिनुपर्ने यो निर्वाचन २०६५ सालदेखि नियमित हुन सकेको छैन। पछिल्लो पटक २०६५ चैत ६ गते सम्पन्न भएको निर्वाचन आठ वर्षपछि मात्र २०७३ चैत १५ गते भएको थियो। त्यसपछि पुनः २०७९ चैत ५ गते केही क्याम्पसबाहेक देशभर स्ववियु निर्वाचन सम्पन्न भएको थियो।
त्यतिवेला देशभरका नौवटा आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन। निर्देशकालयका अनुसार यस पटकको निर्वाचनमा देशभर रहेका त्रिविका ६२ आङ्गिक क्याम्पस तथा एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरूमा निर्वाचन हुनेछ।