News Desk
पर्वत जिल्लामा मृत अवस्थामा चितुवा फेला पार्ने क्रममा २०७९ चैत २९ गते कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित दोबिल्ला–फलेवास सडकखण्डमा चितुवाको डमरु मृत फेला परेको थियो। गत आव ०८०/८१ मा मात्रै जिल्लाका विभिन्न ७ ठाउँमा मृत चितुवा भेटिए।
यसरी चितुवा मृत भेटिने क्रम बढ्दै गइरहेका वेलामा २ वर्षअगाडि चितुवा मृत भेटिएको नगरपालिका–९ कटुवाचौपारीस्थित दोबिल्ला–फलेवास सडकखण्डमा आज (शुक्रवार) फेरि चितुवाको एउटा डमरु मृत फेला परेको छ।
विहान करिब ९ बजेको समयमा आफू विद्यालयतर्फ जाँदै गरेको अवस्थामा फलेवास नगरपालिका–४ मुडिकुवा रुग्दीको बिरौटामा उक्त डमरु कानबाट रगत बगेको अवस्थामा मृत भेटिएको स्थानीय शारदा आधारभूत विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद सापकोटाले जानकारी दिए।
दुई वर्षअगाडि चितुवा मृत भेटिएको मल्याङ्दी खोलाको पुलबाट केही मिटर पश्चिमतर्फ सडकमा नै लडिरहेको अवस्थामा चितुवा भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रबिन विष्टले मृत डमरुलाई डिभिजन वन कार्यालय पर्वतले लगेको र उसैले व्यवस्थापन गर्ने बताए।
पक्की सडकमा नै कानबाट रगत बगेको अवस्थामा भेटिएकोले सवारीसाधनको ठक्करबाट नै उक्त चितुवाको मृत्यु भएको अनुमान गरिएको शिक्षक सापकोटाले बताए।
डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत झ्यामनारायण सापकोटाले पनि सवारीको ठक्करबाट मृत्यु भएको जस्तो देखिएकोले वन क्षेत्रमा सवारी चलाउँदा सावधानी अपनाउन अनुरोध गरे।