खेलाडीहरूको सम्मान कार्यक्रममा दर्शकहरूले गरे कुर्सी तोडफोड
News Desk
Dec-31 , 2024 तारिख 12:52 बेलुका

सप्तरीको राजविराज नगरपालिकाले सोमबार आयोजना गरेको जनकपुर बोल्ट्सका खेलाडीहरूको सम्मान कार्यक्रममा दर्शकहरूले कुर्सी तोडफोड गरेका छन्। सोमबार साँझ राज रंगशालामा आयोजित कार्यक्रममा खेलाडीहरूलाई सम्मान गर्नुभन्दा राजनीतिक भाषण बढी भएको भन्दै दर्शकहरूले असन्तोष व्यक्त गरेका थिए। यस क्रममा प्रहरी र दर्शकहरूबीच सामान्य विवाद र ठेलमठेल समेत भएको बताइएको छ।

यसअघि, जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधि जितेको अवसरमा जनकपुरधाममा सम्मानसहित नगर परिक्रमा गरिएको थियो। मुख्यमन्त्री सतीशकुमार सिंह र जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहको उपस्थितिमा खेलाडीहरूलाई सम्मान गर्दै नगर परिक्रमा गरिएको थियो। नगर परिक्रमा रामजानकी अन्तर्राष्ट्रिय रंगशालाबाट सुरु भई जनकपुरधामका विभिन्न चोकहरू हुँदै जानकी मन्दिरमा पुगेर सम्पन्न भएको थियो।

जनकपुर बोल्ट्सले मधेश प्रदेशका सबै जिल्लामा विजयोत्सव मनाउने योजना अनुसार, पुस १३ गते शनिबार जलेश्वर, सर्लाही, र रौतहटमा, पुस १४ गते आइतबार बारा र पर्साको वीरगञ्जमा, र पुस १५ गते सोमबार सिरहा र सप्तरीको राजविराजमा ट्रफी परेड गर्ने कार्यक्रम रहेको छ।