News Desk
काठमाडौँ | राजा वीरेन्द्र शाहको ८० औँ जन्मजयन्तीका अवसरमा राजधानीमा आयोजित एक विशेष कार्यक्रममार्फत उनको योगदानको स्मरण गरिएको छ। राजा वीरेन्द्र शान्ति प्रतिष्ठानद्वारा आयोजित उक्त अन्तरक्रियामा वक्ताहरूले राष्ट्रनिर्माण, आर्थिक समृद्धि, र अन्तर्राष्ट्रिय कूटनीतिमा उनले पुर्याएको भूमिकाको चर्चा गरे।
प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले २०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना गर्दै वीरेन्द्रले आर्थिक, राजनीतिक, र सामाजिक विकासका क्षेत्रमा उल्लेखनीय कार्य गरेको स्मरण गरे। उनले वीरेन्द्रको नेतृत्वले मुलुकको सार्वभौमिकता र राष्ट्रिय एकतालाई सुदृढ बनाएको बताए।
नेपाल जागरण मिडियाका अध्यक्ष रञ्जित धमलाले राजा वीरेन्द्रले अन्तर्राष्ट्रिय कूटनीतिमा नेपाललाई परिचित गराउन खेलेको भूमिकाको प्रशंसा गरे। उनले नेपाललाई शान्ति क्षेत्रका रूपमा स्थापना गर्ने प्रस्तावले वीरेन्द्रलाई शान्तिप्रेमी राजाका रूपमा स्थापित गराएको बताए।
त्यसैगरी, समाजसेवी पशुपतिभक्त महर्जनले राजा वीरेन्द्रको सरल स्वभाव र जनप्रेमी व्यक्तित्वको चर्चा गर्दै उनलाई देशभक्त राजाका रूपमा चित्रित गरे।
वि.सं. २००२ पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको २०५८ जेठ १९ गते दरबार हत्याकाण्डमा निधन भएको थियो।
कार्यक्रमको अवसरमा प्रतिष्ठानसहित विभिन्न संघसंस्थाले ललितपुरको जावलाखेलस्थित राजा वीरेन्द्रको शालिकमा माल्यार्पण गरी उनको सम्मान गरेका थिए।