बझाङमा आमाको मृत्युको शोक सहन नसकी छोरीको पनि निधन
News Desk
Jan-01 , 2025 तारिख 01:01 बिहान

बझाङको थलारा गाउँपालिका–९, आमबगरमा एक दर्दनाक घटना घटेको छ। शनिबार आमाको मृत्युको शोकमा छोरीको पनि ज्यान गएको छ।

शनिबार ४१ वर्षीया पञ्चमाला जोशी सडकबाट खसेको ढुंगाले लागेर गम्भीर घाइते भइन्। घटनास्थलमै उनको मृत्यु भएको पुष्टि गरिएको थियो। आमाको अचानक निधनपछि शोकमा परेकी २५ वर्षीया छोरी रोहिणी जोशीको स्वास्थ्य अवस्थामा गम्भीर असर देखियो।

आफन्त विश्वप्रकाश जोशीका अनुसार, रोहिणी बेहोस भएपछि उनलाई घरमै प्राथमिक उपचार गराइएको थियो। स्लाइन चढाएपछि केही समय होशमा आए पनि पुनः बेहोस भइन्। सोमबार दिउँसो थप उपचारका लागि जिल्ला अस्पताल चैनपुर लैजाने क्रममा अस्पताल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

आमाछोरी दुवैको शव अन्त्येष्टिका लागि एकसाथ जलाइएको बताइएको छ। यो घटना परिवारका लागि मात्र नभई समग्र गाउँलेहरूका लागि अत्यन्तै पीडादायक बनेको छ।