News Desk
कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तत्कालीन सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित ७ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा आजबाट कास्की जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले पुस ७ गते दायर गरेको मुद्दामा अदालतले प्रारम्भिक बयान सकेपछि थुनछेक बहस सुरु गरेको हो। बहसमा सरकारी वकिलले प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग गरेका छन्।
सहकारी ठगी र संगठित अपराधको आरोप
सरकारी वकिल शान्तिदेवी शर्माले सहकारी ठगीमा संगठित रूपमा संलग्नता देखिएकाले मुलुकी फौजदारी संहिताअनुसार कारबाही गर्नुपर्ने तर्क पेश गरिन्। सहकारीको बचत रकम विभिन्न कम्पनीहरूमा लगानी गरी अपचलन गरिएको दाबी गर्दै प्रतिवादीहरूलाई थुनामा राखी अनुसन्धान गर्नुपर्ने माग गरिएको छ।
अर्की सहायक जिल्ला न्यायाधिवक्ता सुजाता पौडेलले सहकारीको मूल्य र मान्यता विपरीत रकम हिनामिना गरिएको भन्दै संगठित अपराध भएको पुष्टि गर्न प्रमाणहरू पेश गरिन्।
थप अभियोग र ठगी आरोप
सहकारी पीडितको पूरक जाहेरीका आधारमा अनुसन्धानपछि मुद्दा दायर गरिएको हो। सरकारी वकिलका अनुसार रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्क, नेचर हर्ब्स प्रालिलगायत कम्पनीहरूमा लगानी गरिएको छ।
प्रतिवादीहरू— रवि लामिछाने, छविलाल जोशी, जिबी राई, कुमार रम्तेल, रामबहादुर खनाल, मीना गुरूङ, आरति गुरूङ, र कृष्णबहादुर गुरूङविरुद्ध संगठित रूपमा रकम अपचलन र सम्पत्ति शुद्धिकरणको आरोप लगाइएको छ।
थुनामा पठाउने माग र प्रतिवादीको रोदन
इजलासमा बहस जारी रहँदा प्रतिवादी कृष्णबहादुर गुरूङ, जो बेलायती सेनाबाट अवकाशप्राप्त हुन्, रोएका थिए। उनले आफूमाथि झुटो आरोप लगाएर मुद्दा चलाइएको भन्दै भावुक प्रतिक्रिया दिएका थिए। उनकी छोरी मीना गुरूङ र साथी आरति गुरूङ पनि अदालतमा रोएको दृश्यले भावनात्मक माहोल सिर्जना गरेको थियो।
रवि लामिछानेसहित १ अर्ब ५१ करोड ठगीको आरोप
सरकारी वकिलले पेश गरेको अभियोग अनुसार ८ वटा कम्पनीसहित ६३ जनालाई प्रतिवादी बनाइएको छ।
रवि लामिछानेमाथि सहकारी ठगी अभियोगमा ३ करोड ३७ लाख ६५ हजार र सम्पत्ति शुद्धिकरण मुद्दामा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग गरिएको छ। साथै, सोही रकमको जरिवाना र कैद सजायको माग गरिएको छ।
कानुनी लडाइँमा वरिष्ठ अधिवक्ताहरू
रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, डा. नारायण घिमिरे, र हरि सुवेदीले बहस गरिरहेका छन्।