नवलपरासी पश्चिममा निर्दयी रूपमा ६ वटा कुकुर मारेको आरोपमा दुई जना पक्राउ
News Desk
Jan-02 , 2025 तारिख 12:42 बेलुका

नवलपरासी पश्चिममा निर्दयी रूपमा ६ वटा कुकुर मारेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। सुस्ता गाउँपालिका–५ बेलवानीका ३३ वर्षीय राजकुमार सारु र २८ वर्षीय अमनकुमार चिडी मगरलाई उक्त आरोपमा नियन्त्रणमा लिइएको हो।

पुस १३ गते ती दुई जनाले गाउँबाट एउटा माउ कुकुर र त्यसका पाँचवटा छाउराछाउरीलाई नारायणी नदी किनारमा लगेपछि ढुंगाले प्रहार गर्दै मारेको र त्यसपछि नदीमा बगाएको आरोप लागेको छ। घटना कैद गरिएको भिडिओ सामाजिक सञ्जाल फेसबुकमा पोस्ट भएपछि स्थानीयले प्रहरीमा उजुरी गरेका थिए।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक (डीएसपी) रेशम बोहराका अनुसार घटनामा संलग्न दुबै जनालाई पक्राउ गरेर पशुपन्छी सम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको छ।

‘कुकुर मार्ने काम राजकुमारले गरेको र भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने काम अमनकुमारले गरेको अनुसन्धानबाट खुल्न आएको छ,’ डीएसपी बोहराले भने। अदालतबाट सात दिनको म्याद थप गर्दै कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।

पक्राउ परेकामाथि इलाका प्रहरी कार्यालय बेलाटारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।